
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकसामु विद्यमान समस्याहरूलाई निकास दिनका लागि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नै लोकतन्त्रको उच्चतम विधि भएको बताएका छन् ।
सोमबार टुँडिखेलमा काठमाडौँ महानगरपालिकाको ३१औँ महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन निर्वाचन नै एकमात्र विकल्प भएको स्पष्ट पारे।
राष्ट्रपति पौडेलले भने, ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।’
उनले इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पने दायित्व सबैमा रहेको पनि बताए।
यसै क्रममा राष्ट्रपति पौडेलले काठमाडौँ महानगरपालिकाले शहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवद्र्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा र भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना तथा एकीकृत सहरी विकासका लागि गरेको प्रयास उदाहरणीय रहेको पनि बताएका थिए।

























