
काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नामहरूमा अन्तिम समयमा फेरबदल भएको छ। विशेषगरी लेखराज भट्ट र भानुभक्त ढकालको पद तलमाथि भएको छ।
पछिल्लो सहमति अनुसार भट्टलाई उपमहासचिव पदमा बढुवा गरिएको छ। यसअघि उनलाई सचिव पदमा दोहोर्याउने प्रस्ताव गरिएको थियो, तर भट्टले नमानेपछि ओली समूहले उनलाई उपमहासचिव बनाउन लागेको हो।
भट्टले अब आफू टिमबाटै उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिएका छन्। माओवादी धारबाट आएका उनी दसौँ महाधिवेशनमा सचिव भएका थिए।
यसै फेरबदलसँगै, यसअघि ओली टिमबाट उपमहासचिवमा प्रस्तावित ढकाललाई भने सचिव पदमा झारेर उम्मेदवार बनाउने तयारी गरिएको छ। दसौँ महाधिवेशनमा पदाधिकारीमै नरहेका ढकाललाई उपमहासचिवमा अघि सारेपछि भट्ट असन्तुष्ट बनेका थिए, जसपछि यो समायोजन गरिएको बुझिएको छ।
























