
विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा पदाधिकारीका लागि विराटनगरका तीन नेताले मनाेनयन दर्ता गरेका छन् । नयाँ नेतृत्वका लागि आज मतदान गर्ने कार्यसूची छ । निर्वाचनमा इश्वर पाेखरेल र केपी शर्मा ओलीले प्यानल बनाएका छन् । प्यानल र स्वतन्त्र गरी विराटनगरका तीन जनाले मनाेनयन दर्ता गरेका हुन् ।
एमाले उपाध्यक्ष गुरु बरालले खुल्ला तर्फ उपाध्यक्षमा मनाेनयन दर्ता गरेका छन् । उनी संस्थापन पक्षका नेता हुन् । इश्वर पाेखरेलकाे पक्षबाट विराटनगरका एमाले नेता विनाेद ढकालले सचिवमा मनाेनयन दर्ता गरेका छन् । ओली पक्षमा रहेका नेता लालबाबु पण्डितले समूहमा विद्राेह गर्दै सचिवमा उम्मेदवारी दिएका छन् । उनी प्यानलमा छैनन ।
संस्थापन पक्षबाट केन्द्रीय सचिवमा झापाबाट हिक्मतकुमार कार्की, भाेजपुरबाट शेरधन राईले उम्मेदवारी दिएका छन् । ओली समूहमा विद्राेह गर्दै अग्नी खरेलले सचिव र राजेन्द्र गाैतमले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।
एमालेकाे केन्द्रीय सदस्यका लागि विराटनगरबाट पाँच जनाले उम्मेदवारी दिएका छन् । केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा खुल्ला तर्फ पर्शुराम बस्नेत,जीवन घिमिरे, ऋषिकेश पोखरेल उम्मेदवार छन् । महिला कोटाबाट शिल्पा निराला कार्कीले उमेदवार दिएकी छन् । मधेसी कोटाबाट दिलिप बगडिया उम्मेदवार बनेका छन् । लिलाबल्लभ अधिकारी पनि केन्द्रीय सदस्यकाे उम्मेदवार छन् ।

























