ओलीको ‘लिष्ट’ मा नपरेपछि स्वतन्त्र उम्मेदवारी

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १, मंगलबार १२:३६

काठमाडौं। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहको आधिकारिक उम्मेदवार सूचीमा नपरेपछि पूर्व माओवादी नेता ठम्मर विष्टले विद्रोह गरेका छन्। उनले आधिकारिक प्यानल बाहिरबाटै स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।

विष्टले कर्णाली प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिएका हुन्। ओली समूहबाट सो भूगोलमा नवराज रावत, डम्बर सिंह, विष्णु रिजाल, दल फडेरा र जितबहादुर मल्लले मात्र केन्द्रीय सदस्यको टिकट पाएका छन्। सुर्खेत निवासी विष्ट तत्कालीन नेकपा कालमा कर्णाली प्रदेश सभा सदस्य पद त्याग गर्दै एमाले प्रवेश गरेका थिए। यसअघि पनि केन्द्रीय सदस्य रहेका विष्ट केन्द्रमा अध्यक्ष ओलीसँग निकट मानिए पनि यसपटक उनी समूहको प्राथमिकतामा अटाउन सकेनन्।

आधिकारिक सूचीमा नाम नआएपछि विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्। उनले पार्टी नेतृत्वको आधिकारिक लिस्टमा नाम नहुँदा नहुँदै पनि मतदाताको विवेकमाथि विश्वास गरेर चुनावी मैदानमा होमिएको बताए।

विष्टले यसअघि महाधिवेशन प्रतिनिधि छनोटका क्रममा समेत असन्तुष्टि जनाएका थिए। सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधि छनोट गर्दा एमाले नेता यामलाल कँडेल समूहले एकलौटी गरेको भन्दै उनले ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए। ओली समूहको प्यानल बाहिरबाट उम्मेदवारी दिएका विष्टको कदमले कर्णालीको चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.