
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व छनोटका लागि भइरहेको प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओलीको समूहले आफ्नो आधिकारिक उम्मेदवार सूची (प्यानल) सार्वजनिक गरेको छ। जसमा नेता रघुजी पन्त र युवा नेता सुहाङ नेम्वाङलाई पनि समेटिएको छ।
यसअघि नेता पन्तले उपाध्यक्ष पदका लागि ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको चर्चा चलेको थियो। तर, मंगलबार ओली पक्षले प्रतिनिधिहरूलाई वितरण गरेको आधिकारिक नामावलीमा पन्तको नाम समावेश गरेपछि चुनावी समीकरणमा नयाँ मोड आएको छ।
त्यसैगरी, सोमबार मात्रै स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका सुहाङ नेम्वाङलाई पनि ओली समूहले आफ्नो प्यानलमा राखेको छ। सुहाङ स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनलाई खुला केन्द्रीय सदस्यको सूचीमा राखिएको छ।
अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबीच प्यानलगत रूपमै कडा प्रतिस्पर्धा भइरहँदा अन्तिम समयमा आएर केही नेताहरूको नाम साटासाट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अहिले मतदानका लागि प्रतिनिधिहरूमाझ ओली पक्षको यो आधिकारिक सूची वितरण भइरहेको छ।
























