चुनाव प्रचारमा कडाइ : आमसभा र जुलुसमा १० वटा मात्रै झन्डा प्रयोग गर्न प्रस्ताव

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार ०९:१९

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झन्डा र सामग्रीको दुरुपयोग रोक्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहितामा प्रचारप्रसार सम्बन्धी कडा प्रावधान समेटिएको हो।

आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्रै झन्डा प्रयोग गर्न पाउने छन्। दलको झन्डा आवश्यकताभन्दा बढी प्रयोग भई दुरुपयोग नहोस् भन्ने मनसायले यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगले जनाएको छ।

प्रस्तावित आचारसंहिताअनुसार उम्मेदवार वा दलको कार्यालयमा ३–४ फिट साइजको दलको झन्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने छ। तर, दलको प्रचारप्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउने तथा श्रव्य दृश्य सामग्री प्रदर्शन गर्न निषेध गरिने प्रस्ताव गरिएको छ। राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्रै तुल वा फ्लेक्स राख्न पाइने व्यवस्था गरिएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी भई जुलुस निकाल्न नपाइने उल्लेख गरिएको छ। साथै, चुनाव प्रचारका क्रममा बाजागाजा र झाँकीसहित जानसमेत निषेध गरिनेछ।

यसैगरी, अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम तथा काउन्टरमा सन्देश, सडक नाटकलगायतका माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने प्रस्ताव गरिएको छ। तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी तथा आधिकारिक वेबपेजमा मात्र प्रचार सामग्री राख्न पाउने छन्।

दलको झन्डा वा दल तथा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न, भित्ते लेखन गर्न, तथा चार पाङ्ग्रे सवारी, मोटरसाइकल, साइकल, बयल गाडा, रिक्सा, टाँगा वा ठेला गाडा प्रयोग गरी र्‍याली तथा प्रचारप्रसार गर्न पनि निषेध गरिने प्रस्ताव आचारसंहितामा समावेश गरिएको छ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन यस्ता व्यवस्था प्रस्ताव गरिएको स्पष्ट पारेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.