
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत नेपाल प्रहरीका १ जना सहायक हवल्दारको बुधबार दिउँसो मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१ हरैँचा टोल घर भएका प्रहरी सहायक हवल्दार ३४ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको हो । उनी इलामको प्रहरी चौकी फुइयातप्पा दरबन्दी भएर इलामकै अस्थायी प्रहरी पोस्ट कालपोखरीमा कार्यरत थिए ।
अचानक पेट दुख्ने समस्या देखिएपछि उनलाई उपचारका लागि मंगलबार नोबेल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले कलेजोमा समस्या भएको बताएपछि आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।
उपचाररत अवस्थामै बुधबार दिउँसो २ः३० बजेतिर सहायक हवल्दार श्रेष्ठलाई चिकित्सकले मृत घोषित गरेको जानकारी मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले दिइन् । घटनाको थप विषय बुझ्ने काम भइरहेको उनले बताइन् ।

























