
विराटनगर । मोरङका सुरक्षा अधिकारीहरुले बलात्कारपछि हत्या गरिएकी मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमका अभिभावक र आफन्तलाई भेटेका छन् ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला नेतृत्वको टोलीले बुधबार अंशुको काजकिरिया भइरहेको घरमै पुगेर अभिभावक एवं आफन्तलाई भेट्दै समवेदना र श्रद्धाञ्जली अर्पण गरेका हुन् । अंशुको घरमा निमित्त प्रजिअ कोइरालासहित मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख एसपी राजन शर्मा सापकोटासहितको टोली पुगेको थियो ।
टोलीले अंशुकै घरमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना प्रकट गरेको हो । सुरक्षा अधिकारीको टोलीले जनप्रतिनिधि तथा स्थानीयसँग घटनाको विषयमा छलफलसमेत गरेको छ ।
छलफलमा बोल्दै लेटाङ नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावतीले सुरक्षा निकायको मिहिनेत र स्थानीयको सहयोगका कारण घटनामा संलग्नको पहिचान भएको बताए । उनले घटनामा संलग्नको खोजीमा खटिने र साथ दिने सबैलाई धन्यवाद दिए ।
अंशुको घटनाबाट नेपाल प्रहरीले कुनै पनि हालतमा अपराधी पत्ता लगाउँछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको बताउँदै मेयर लावतीले बलात्कार एवं हत्यामा संलग्न पत्ता लगाउन खटिने प्रहरीलाई नगरपालिकाले सम्मान गर्ने जानकारी दिए । ‘कसैले अपराध गरेमा प्रहरीले छाड्दैन र पत्ता लगाएरै छाड्छ भन्ने सन्देश गएको छ,’ उनले भने ।
निमित्त प्रजिअ कोइरालाले दुःखद् घटना भएको र घटनामा संलग्न कानुनी दायरामा आइसकेको अवस्थामा आफैंले आफैंलाई सम्झाएर पीडित पक्ष सामान्य अवस्थामा फर्कनुपर्ने बताए । उनले अंशुका अभिभावकप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कटवालले पीडा एवं दुःखलाई साझा गर्दै परिवार र समुदायप्रति सहानुभूति प्रकट गर्न आफूहरु आएको बताए । उनले पीडकको परिवारका सदस्य र उनीहरुका भौतिक संरचनामा आक्रमण गरेमा कानुन आकर्षित हुने भन्दै आक्रोशमा आएर त्यस्तो गल्ती नगर्न सबैमा आग्रह गरेका छन् ।
अनुसन्धानका क्रममा स्थानीयमाथि भएको असुविधालाई अन्यथा नलिन पनि एसपी कटवालको आग्रह छ । ‘ठूलो संख्यामा प्रहरी परिचालन गरेर निकै महत्व दिँदै मिहिनेतका साथ घटनामा संलग्नलाई पक्राउ गरिएको छ । अपराध गर्ने व्यक्तिलाई कानुन अनुसार सजाय हुन्छ । त्यस्ता व्यक्तिले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन्,’ उनले भने ।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र खतिवडाले समाजमा अपराधिक घटना नियन्त्रण गर्न सरोकारवालाहरुले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले बुधबारे प्रहरी चौकीमा दरबन्दी अनुसार जनशक्ति नरहेकाले शान्ति सुरक्षा कायम गर्न समस्या देखिएको भन्दै दरबन्दी अनुसार प्रहरी जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरे ।
मृतक अंशु गौतमका अभिभावकको पारिवारिक आर्थिक अवस्था निक्कै कमजोर रहेको खतिवडाले बताए । अंशुको परिवारलाई सरकारले पनि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
अंशुको घरमा इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह, लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनालगायत स्थानीयको उपस्थिति रहेको थियो । सुरक्षा अधिकारीको टोली घरमा पुग्दा हिन्दु धार्मिक विधि अनुसार अंशुको नवौं दिनको किरियाकर्म चलिरहेको थियो । अंशुका ७८ वर्षीय हजुरबुवा किरियामा बसेका छन् ।

गत असोज २१ गते दिउँसो घरबाटै हराएकी अंशुको शव कात्तिक ७ गते बीभत्स अवस्थामा जंगलभित्र फेला परेको थियो । बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर र टाउको अलग गरिएको तथा कुहिएर दुर्गन्धित भएको अवस्थामा उनको शव फेला परेको थियो ।
पहिचान गर्नै नसकिने अवस्थामा रहेको शवको घटनास्थलमा फेला परेका चप्पल र कपडालगायतका आधारमा अभिभावकले सनाखत गरेका थिए । शव भेटिएपछि हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले ३ सय जना स्थानीयसँग सोधपुछ र १६ जनाको पोलीग्राफ परीक्षण गरेको थियो ।
प्रहरीले घटनामा संलग्न अंशुकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई मंसिर १८ गते पक्राउ गरिसकेको छ । घटनाका आरोपी पक्राउ परेपछि अभिभावकले शव बुझेर अंशुको अन्त्येष्टि गरेका थिए ।
यता आक्रोशित भिडले घरमा तोडफोड गरेपछि घटनाका आरोपी पदमबहादुरको परिवारका सदस्य थातथलो छाडेर विस्थापित भएका छन् । घरमा तोडफोड र आक्रमण हुन थालेपछि असुरक्षित महसुस गर्दै आरोपीको परिवारका सदस्य विस्थापित भएका हुन् ।

























