अध्यक्षमा ओलीसहित पदाधिकारीमा संस्थापन प्यानलकै बर्चस्व

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १२:५३

काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा केपी शर्मा ओली प्यानलले सुरुदेखि नै बलियो अग्रता बनाएको छ । बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएलगत्तै गणना सुरु भएको थियो । विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले गणना सुरु भएको केही घण्टामै प्रारम्भिक नतिजाहरू आउन थालेका हुन् ।

अध्यक्ष र महासचिवमा फराकिलो अन्तर अहिलेसम्मको परिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन् । महासचिव पदमा पनि संस्थापन पक्षकै शंकर पोखरेल अगाडि देखिएका छन् । पोखरेलले ६१३ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपाध्यक्ष र अन्य पदाधिकारीमा पनि ओली पक्षकै अग्रता उपाध्यक्ष पदमा ओली प्यानलबाट उम्मेदवार बनेका नेताहरूको वर्चस्व देखिएको छ । अहिलेसम्मको गणनामा पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् भने दोस्रो स्थानमा विष्णु प्रसाद पौडेल र तेस्रोमा राम बहादुर थापा छन् । यी तिनै जना ओली पक्षका उम्मेदवार हुन्।

उपमहासचिवमा पनि ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ अगाडि देखिएका छन् । ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका योगेश भट्टराई तेस्रो स्थानमा छन्। सचिव पदमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल र शेरधन राईले सुरुवाती अग्रता लिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार २ हजार २२७ मत खसेको यस निर्वाचनको अन्तिम नतिजा अबको केही घण्टाभित्रै सार्वजनिक हुनेछ । आयोगले सबै पदको मतपरिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी गरेको छ । कुल २ हजार २६३ मतदातामध्ये ३६ जना अनुपस्थित थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.