एमाले महाधिवेशन: मोरङबाट ५ केन्द्रीय सदस्य विजयी

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १६:२९

विराटनगर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा मोरङ जिल्लाबाट केन्द्रीय सदस्यमा ५ जना नेताहरू विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, शिल्पा निराला कार्की र दिलीप बगडिया केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा विजयी भएर जिल्लाको साख जोगाए पनि पदाधिकारी तहमा भने मोरङका प्रभावशाली नेताहरू पराजित भएका छन् । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गुरु बराल पराजित भएका छन् भने सचिव पदमा प्रतिस्पर्धा गरेका नेताहरू लालबाबु पण्डित र विनोद ढकाल पनि पराजित भएका छन् ।

यस्तै, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका यसअघिका केन्द्रीय सदस्यद्वय युवराज बास्कोटा र रामलाल साहले यसपटक पराजय व्यहोर्नुपरेको छ । मोरङबाटै उम्मेदवारी दिएका लिलाबल्लभ अधिकारी र खेमराज नेपाली पनि केन्द्रीय सदस्यमा पराजित भए । आयोगको सदस्य पदमा उम्मेदवारी दिएका महेश भट्टराई र पितकुमार श्रेष्ठ पनि निर्वाचित हुन सकेनन् ।

‘युवालाई राजनीतिबाट टाढा राख्न हुँदैन’

यसैबीच, केन्द्रीय सदस्यमा निर्वाचित बस्नेतले अहिलेको राष्ट्रिय परिवेश र युवामाझ देखिएको राजनीतिक दूरी रहेको अवस्थामा आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘राजनीति नै समृद्धिको मार्ग हो । युवालाई राजनीतिबाट टाढा राख्न हुँदैन । राजनीतिबाट युवा पुस्ता पलायन हुने जोखिम रोक्न नेतृत्व अब जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।

देशमा बढ्दै गएको निराशा, अराजकता र अनुशासनहीनताका बेला युवालाई राष्ट्र, राष्ट्रियता र स्वाधीनताको महत्त्व बुझाउँदै सही राजनीतिक दिशातिर उन्मुख गराउन अनिवार्य रहेको उनको भनाइ छ । तीन दशकदेखि युवालाई संगठित, अनुशासित र राष्ट्रवादमा उभ्याउने लक्ष्यका साथ सक्रिय उनले अब आफ्नो यही अनुभव केन्द्रीय नेतृत्वस्तरमा प्रयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.