जिल्लामा ‘ब्रेक’, केन्द्रमा ‘छलाङ’: शिल्पाको रोचक राजनीतिक यात्रा

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १९:२६

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको राजनीतिक ‘ग्राफ’ यतिबेला नेकपा (एमाले) भित्र निकै चर्चाको विषय बनेको छ। भनिन्छ, राजनीति सम्भावनाको खेल हो । शिल्पाको हकमा यो चरितार्थ भएको छ ।

गत फागुनमा मोरङ जिल्लाको १० औँ अधिवेशनमा उपसचिव पदमा चुनाव लड्दा उनी मात्र १३ मतको अन्तरले पराजित भएकी थिइन् । त्यतिबेला इतर समूहकी उषा झासँग पराजित भएपछि धेरैले उनको राजनीतिक यात्रामा केही समयका लागि ‘ब्रेक’ लागेको अनुमान गरेका थिए ।

जिल्लाको हारले उनलाई केन्द्र पुग्नबाट रोक्न सकेन । मोरङ क्षेत्र नम्बर ६ मा महाधिवेशन प्रतिनिधि छनोट हुँदा पनि माहोल आफ्नो पक्षमा नदेखेपछि उनले उम्मेदवार बन्ने जोखिम उठाइनन् । तर, राजनीतिक समीकरणले उनलाई अनौठो साथ दियो । महाधिवेशनको अघिल्लो दिन अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने १०८ जना प्रतिनिधिको सूचीमा शिल्पाको नाम अटाएपछि उनी ‘ब्याकडोर’ बाट महाधिवेशन हलमा प्रवेश गरिन् ।

जिल्लामा सानो पदमा पराजित भएकी र आफ्नै क्षेत्रबाट छानिन नसकेकी शिल्पाले केन्द्रीय सदस्यको निर्वाचनमा भने १,७४३ मत ल्याएर सानदार जित निकालिन् । तल्लो तहका दुईवटा खुड्किला पार गर्न नसके पनि सिधै केन्द्रीय राजनीतिमा छलाङ मार्नुलाई एमालेका कार्यकर्ताहरूले निकै चासोका साथ हेरेका छन् ।

कतिपयले यसलाई नेतृत्वको विश्वास जितेर पाएको उपहारका रूपमा लिएका छन् भने कतिपयले ‘बेसमा डराएर पनि केन्द्रमा बाजी मारिन्’ भन्दै ठट्टा समेत गर्न थालेका छन्। जे होस्, जिल्लाको हारलाई केन्द्रको जितमा बदल्दै शिल्पाले आफूलाई एमालेको केन्द्रीय राजनीतिमा स्थापित गराएकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.