‘एमालेलाई छोए देश ठप्प हुन्छ, म बिनाको एमालेको सपना चकनाचुर भयो’

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १९:३५

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि र पार्टी नेतृत्वमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसको परिणाम अत्यन्तै महँगो पर्ने चेतावनी दिएका छन् ।

एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले ‘एमालेलाई छोए देश ठप्प हुने’ स्पष्ट सन्देश दिएका हुन् । ओलीले पञ्चायतकालको स्मरण गराउँदै अहिले पनि त्यही शैलीमा जाली मुद्दा लगाएर एमाले नेतृत्वलाई घेराबन्दी गर्ने प्रयास भइरहेको दाबी गरे ।

उनले भने, ‘पञ्चायतकालजस्तै जाली मुद्दा लगाउने कोसिस हुँदैछ । एमाले नेतृत्वमाथि हात हालियो भने देश ठप्प हुनुपर्छ । एमाले चुप लागेर बस्दैन, सरकारले यसको मूल्य चुकाउनुपर्छ ।’ उनका अनुसार यदि त्यस्तो अवस्था आयो भने एमालेले देशभरबाट संगठित रूपमा प्रतिरोध गर्नेछ र सरकार ढाल्ने समेत परिस्थिति बन्न सक्छ ।

अध्यक्ष ओलीले पार्टी पंक्तिलाई प्रत्यक्ष निर्देशनसमेत दिएका छन् । उनले जाली मुद्दा लगाइएमा आन्दोलनमा उत्रन तयार रहन आग्रह गरे । ‘हामी कुरा गरेर होइन, काम गरेर देखाउनुपर्छ । सबै तयार रहनुपर्छ,’ भन्दै उनले पार्टीलाई अब प्रतिरक्षात्मक नभएर सक्रिय तयारीमा जान निर्देशन दिए ।

उनले देशमा बढ्दै गएको अराजकता, अस्थिरता र आफूहरूलाई लक्षित षड्यन्त्रको सन्दर्भ उठाउँदै राज्य संयन्त्रप्रति भरोसा नरहेको स्पष्ट गरे । यही कारण टोल–टोलमा आफ्नै सुरक्षा संयन्त्र खडा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

ओलीले एक हप्ताभित्र देशभर टोल सुरक्षा समिति गठन गर्न पार्टीका सबै नेता–कार्यकर्तालाई निर्देशन दिए । ‘राज्य संयन्त्रको भर परेर हुँदैन । आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ । शान्ति सुरक्षा आफैँले हेर्नुपर्छ,’ उनले भने ।

उनका अनुसार भदौ २४ गते पार्टी र आफूहरूमाथि धोका भएको अनुभवले अब सतर्क रहन बाध्य बनाएको छ । उनले भविष्यमा ‘जेनजी’ जस्ता नाममा धाकधम्की आउन सक्ने संकेत गर्दै त्यसका लागि पनि मानसिक र संगठनात्मक रूपमा तयार रहन आग्रह गरे ।

महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएपछि ओलीले आफू बिनाको एमाले बनाउने सपना ध्वस्त भएको दाबी पनि गरे । उनले पार्टी प्रतिनिधिहरूले तेस्रो कार्यकालका लागि आफूलाई अध्यक्षमा निर्वाचित गरेर प्रतिक्रियावादी षड्यन्त्रहरूलाई परास्त गरेको बताए । ‘केपी ओली बिनाको एमाले भन्ने चाहना राख्नेहरूको चेष्टा तपाईंहरूले ध्वस्त पारिदिनुभएको छ,’ भन्दै उनले प्रतिनिधिहरूलाई धन्यवाद दिए ।

आफूलाई पार्टी नेतृत्वबाट हटाउन अनेक प्रकारका भ्रम, मनोवैज्ञानिक आतंक, षड्यन्त्र र जालझेल भएको उनको आरोप थियो । जेनजी आन्दोलनबाट सत्ताच्युत गरिएपछि आफ्नो राजनीतिक उपादेयता सकियो भन्ने प्रचार गरिए पनि महाधिवेशनको परिणामले त्यसलाई गलत सावित गरेको ओलीको तर्क छ । ‘मेरो बारेमा अनेक प्रकारका शक्तिहरूले भ्रम फिजाए, त्रास सिर्जना गरे, षड्यन्त्र गरे । तर तपाईंहरूले त्यसको जवाफ मतबाट दिनुभएको छ,’ उनले भने ।

महाधिवेशनको मतदान प्रक्रियाप्रति सन्तोष व्यक्त गर्दै ओलीले रातभर जाग्राम बसेर पनि मतदानमा सहभागी भएका प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिए । कूल २२६३ मतदातामध्ये २२२७ प्रतिनिधिले मतदान गरेको तथ्य उल्लेख गर्दै उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो रहेको दाबी गरे ।

यद्यपि, उनले महाधिवेशन र नेतृत्व चयन प्रक्रिया सजिलो नहुने पनि स्वीकार गरे । देशभरका प्रतिनिधिले सबै नेताहरूको कामको पूर्ण मूल्याङ्कन गर्न सधैँ सम्भव नहुने, अफवाह र भ्रमले पनि प्रभाव पार्ने वास्तविकता औँल्याउँदै ओलीले प्रतिनिधिहरूले सकेसम्म विवेक प्रयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री सुशीला कार्कीप्रति पनि ओली कडा रूपमा प्रस्तुत भए । उनले सरकार निर्वाचन गराउन सक्षम नभए मार्ग प्रशस्त गर्न चेतावनी दिए । ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग,’ भन्ने ओलीको भनाइले एमाले अब सरकारसँग सिधा टकरावको मनस्थितिमा पुगेको संकेत गर्छ ।

समग्रमा महाधिवेशनपछि ओलीको पहिलो सम्बोधन धन्यवाद र भावनात्मक मन्तव्यमा सीमित रहेन । त्यसले एमाले नेतृत्व र संगठन अब सम्भावित राजनीतिक, कानुनी र सडक संघर्षका लागि खुला रूपमा तयारी अवस्थामा प्रवेश गरेको स्पष्ट सन्देश दियो ।

जाली मुद्दाको आरोप, देश ठप्प पार्ने चेतावनी, सरकार ढाल्ने संकेत र टोल–टोलमा सुरक्षा समिति गठनको निर्देशनले ओली नेतृत्वको एमाले अब नरम होइन, आक्रामक रणनीतितर्फ उन्मुख भएको संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.