
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ कासीजामस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट बिहीबार राति साइकल यात्रीको मृत्यु भएको छ ।
गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति ८ः१५ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ८ः४५ बजेतिर मृत घोषणा गरेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डल घाइते भएका छन् ।
मध्यम अवस्थाका उनलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको जानकारी न्यौपानेले दिए । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा रोकेर राखेको गाडीमा मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । सडकमा रोकेर राखिएको को १ क २६१८ नम्बरको गाडी (सिमेन्ट घोल्ने मेसिन)मा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को ४० प १९२५ नम्बरको मोटरसाइकल राति ९ः२० बजेतिर ठोक्किएर दुर्घटनामा परेको थियो ।
गाडीमा पछाडिबाट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।
अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन तथा गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























