
विराटनगर । नेकपा (एमाले) का प्रभावशाली युवा नेता पर्शुराम बस्नेत पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महाधिवेशनमा १,१३७ मत प्राप्त गर्दै केन्द्रीय सदस्य बनेका बस्नेतले तीन दशकभन्दा लामो समयदेखि युवा आन्दोलन, संगठन निर्माण र पार्टीलाई स्थानीयदेखि केन्द्रीय तहसम्म मजबुत बनाउन निर्णायक भूमिका खेल्दै आएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने बस्नेत युवाहरूका माझ निकै लोकप्रिय छन् । लामो समयको राजनीतिक लगाव, स्पष्ट विचार र सांगठनिक पकडका कारण उनी एमालेभित्र उदाउँदै गरेको एक प्रभावशाली शक्तिका रूपमा स्थापित भएका हुन् ।
विराटनगर, मोरङ र कोशी प्रदेशसहित मुलुकभरका एमाले युवाहरूमाझ परिचित बस्नेत आफ्नो राजनीतिक कठोरता, संगठन चलाउने विशेष क्षमता र कठिन परिस्थितिमा युवा शक्तिलाई एकताबद्ध गर्ने नेतृत्व कौशलका कारण चर्चित छन् । एमालेभित्र नेतृत्व विस्तार र पुस्तान्तरणको बहस चलिरहेका बेला ओलीकै प्यानलबाट उम्मेदवारी दिएर उनी केन्द्रीय सदस्य निर्वाचित हुनुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।
स्कुले जीवनदेखि केन्द्रीय नेतृत्वसम्म
१६ वर्षको उमेरमै एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट राजनीति सुरु गरेका बस्नेतले हालसम्म पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक सम्हालिसकेका छन् । वडा तहदेखि सुरु भएको उनको यात्रा युवा संघ मोरङको उपसचिव, उपाध्यक्ष हुँदै युथ फोर्स मोरङको प्रमुखसम्म पुग्यो। त्यसपछि युवा संघ नेपालको केन्द्रीय सचिव, कोशी अञ्चल सहसंयोजक र केन्द्रीय उपाध्यक्ष जस्ता गरिमामय पदहरूमा रहेर उनले आफ्नो कार्यक्षमता प्रमाणित गरे ।
पार्टी संगठनतर्फ उनी एमाले मोरङको सचिवालय सदस्य, विराटनगर महानगर इन्चार्ज र कोशी प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा समेत रहे । खेलकुद क्षेत्रमा पनि उनको दख्खल उत्तिकै छ । हाल उनी नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष हुन् । एमाले नेतृत्वको कोशी प्रदेश सरकारले उनको प्रशासनिक दक्षता र खेल क्षेत्रप्रतिको लगावलाई कदर गर्दै प्रदेश खेलकुद विकास बोर्डको संस्थापक सदस्यसचिव नियुक्त गरेको थियो ।
कुशल संगठक
कुशल संगठकका रूपमा चिनिएका बस्नेत २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं ६ (ख) बाट कांग्रेसका केदार कार्कीसँग पराजित भएका थिए । पराजयले उनको संसदीय यात्रामा केही समयका लागि ‘ब्रेक’ लगाए पनि उनको राजनीतिक सक्रियतामा भने कुनै कमी आएन । चुनावी परिणामलाई स्वीकार गर्दै उनी झन् सशक्त रूपमा सांगठनिक गतिविधिमा होमिए, जसको परिणाम स्वरूप उनी अहिले पार्टीको केन्द्रीय सदस्यमा बाजी मार्न सफल भएका छन् ।
पार्टीभित्र बस्नेतलाई ‘संकटको साथी’ का रूपमा चिनिन्छ । २०६४ सालपछि माओवादीको ‘वाईसीएल’ले देशभर आतंक मच्चाउँदा बस्नेत नेतृत्वको युथ फोर्सले त्यसको सशक्त प्रतिवाद गरेको थियो । मोरङमा अराजकता रोक्न र कार्यकर्ताको मनोबल उच्च राख्न उनको समूहले खेलेको भूमिकाको अहिले पनि चर्चा हुने गर्छ । यस्तै, मधेस आन्दोलनका नाममा भएका कतिपय हिंसात्मक र अराजक गतिविधि तथा उद्योगी-व्यवसायीमाथि हुने चन्दा आतंकविरुद्ध उनी ‘पिलर’ जस्तै बनेर उभिएका थिए । उनको यही हक्की, निडर र स्पष्ट स्वभावले उनलाई अन्य नेताहरूभन्दा फरक पहिचान दिएको छ ।
अबको प्राथमिकता: युवा र समृद्धि
बस्नेत अहिलेको राष्ट्रिय परिवेशमा युवा र राजनीतिबीच बढ्दै गएको दूरीलाई कम गर्नुपर्ने पक्षमा छन् । “राजनीति नै समृद्धिको मार्ग हो, युवालाई राजनीतिबाट टाढा राख्दा देशले सही दिशा पाउँदैन,” उनी भन्छन्, “देशमा बढ्दै गएको निराशा र अनुशासनहीनताका बीच युवालाई राष्ट्रियता र स्वाधीनताको महत्त्व बुझाउँदै सही राजनीतिक बाटोमा डोर्याउनु आजको आवश्यकता हो ।”
तीन दशकदेखि युवालाई संगठित र अनुशासित बनाउँदै राष्ट्रवादको पक्षमा उभ्याउने लक्ष्य राखेका बस्नेत अब आफ्नो त्यही अनुभवलाई केन्द्रीय नेतृत्वको तहबाट देशव्यापी रूपमा प्रयोग गर्न चाहन्छन् । अध्यक्ष केपी शर्मा ओलीको नीतिगत विचार र राष्ट्रिय स्वाभिमानको अडानलाई युवा पुस्तामाझ पुर्याउनु र पार्टीको वैचारिक धरातललाई मजबुत बनाउनु नै आफ्नो मुख्य ध्येय रहेको उनी बताउँछन् ।
एमालेका कार्यकर्ताहरूका अनुसार बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित हुनुले पार्टीको युवा परिचालन र सांगठनिक मजबुतीमा नयाँ ऊर्जा थप्ने निश्चित छ।
























