जेनजी आन्दोलनका घाइतेलाई सरकारले मासिक १८ हजारसम्म भत्ता दिने

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १४:१४

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उनीहरूको अवस्था र गम्भीरताका आधारमा मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ‘जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२’ कार्यान्वयनमा आएसँगै यो प्रक्रिया अगाडि बढाइएको हो ।

यसका लागि स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने व्यवस्था गरेको छ । कार्यविधि अनुसार अति गम्भीर घाइते भएका व्यक्तिहरूले मासिक १८ हजार रुपैयाँ जीविकोपार्जन भत्ता पाउनेछन् भने गम्भीर घाइतेले मासिक ९ हजार र मध्यम घाइतेले मासिक ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सामान्य घाइतेको हकमा भने नगद राहतको व्यवस्था गरिएको छैन । जिल्ला प्रशासन कार्यालयको सिफारिस र स्वास्थ्य मन्त्रालयको प्रमाणीकरणका आधारमा उपलब्ध गराइने यो भत्तालाई समयसापेक्ष महँगीका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान समेत राखिएको छ । हालसम्म काठमाडौं, कास्की र चितवन जिल्लाका १८३ जना घाइतेको वर्गीकरण सम्पन्न भइसकेको छ, जसमा १८ जना अति गम्भीर, ५५ जना गम्भीर, ४० जना मध्यम र ७० जना सामान्य घाइतेका रूपमा पहिचान भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.