विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे प्रतिवेदन सार्वजनिक

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १४:३२

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको साहित्य र सिर्जना समेटिएको पुस्तक ‘पुरानो पन्ना’ विमोचन गरिएको छ । श्रमिक सञ्जाल तथा सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चको समन्वयमा आयोजित कार्यक्रममा खाडीका ६ देश र मलेसियामा कार्यरत न्यून आय भएका श्रमिकका १०८ वटा कविता, गजल र मुक्तकहरूलाई पुस्तकका रूपमा सार्वजनिक गरिएको हो ।

सोही अवसरमा विदेशबाट मतदान गर्ने अधिकारका बारेमा तयार पारिएको एक विशेष सर्वेक्षण अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरियो, जसमा साउदी अरब, कतार, मलेसिया लगायतका देशमा रहेका ६ हजार ४ सय ८५ नेपाली श्रमिकहरूको प्रतिक्रिया समेटिएको छ ।

प्रतिवेदनले विप्रेषणमार्फत देशको अर्थतन्त्र धानिरहेका श्रमिकहरू आफ्नै संवैधानिक मतदानको अधिकारबाट वञ्चित रहनुपर्दाको पीडा र नेपालको निर्वाचन प्रक्रियामा उनीहरूको गहिरो चासोलाई तथ्यगत रूपमा उजागर गरेको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विदेशमा रहेका नेपालीको भोट हाल्न पाउने अधिकार नैसर्गिक भएको भन्दै आयोगले यसको सधैँ वकालत गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, श्रम आप्रवासन विज्ञ डा. मिना पौडेलले अधिकांश नेपालीहरू बाध्यताले परदेशिएको उल्लेख गर्दै देशको विकासमा योगदान दिने वर्गलाई मतदानबाट वञ्चित राख्नु अन्यायपूर्ण हुने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.