
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन् । घटनाको १०० दिनपछि क्षतिग्रस्त संरचनाको निरीक्षण गर्न पुगेका अर्थमन्त्री खनालले भवन मर्मतका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए ।
उनले मर्मतसम्भारसम्बन्धी फाइल भर्खरै मन्त्रालयमा आइपुगेको जानकारी दिँदै त्यसलाई अध्ययन गरेर छिट्टै निर्णय लिने बताए । सो अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकासँग सीमित स्रोत भएकाले सङ्घीय सरकारको सहयोग विना पुनर्निर्माण सम्भव नभएको र आफ्नै बजेट खर्च गर्दा अन्य विकास योजना प्रभावित हुनेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
भेटका क्रममा नगर प्रमुख पाण्डेयले ज्योतिनगर पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे संरक्षण आयोजनामार्फत विनियोजित २५ करोड रुपैयाँको बजेट कटौती भएर २५ लाखमा झरेको भन्दै सो बजेट नकाट्न आग्रह गरे । पहिरो नियन्त्रण नभएमा बस्तीसँगै बुटवल बहुमुखी क्याम्पस र सैनिक विद्यालय समेत विस्थापित हुने जोखिम रहेको उनको भनाइ थियो ।
जवाफमा अर्थमन्त्री खनालले संवेदनशील र कार्यान्वयनमा गइसकेका योजनाको बजेट नकाटिएको स्पष्ट पार्दै यस विषयमा सम्बन्धित निकायसँग बुझ्ने बताए । अर्थमन्त्री खनालले निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको समेत निरीक्षण गरी निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

























