
विराटनगर । मोरङको लेटाङकी १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएकोमा लेटाङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालय मोरङलाई सम्मान गरेको छ ।
नगरपालिकाले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेर गम्भीर र संवेदनशील प्रकृतिको घटनामा प्रहरीले देखाएको पेसागत क्षमता, धैर्यता र मिहिन अनुसन्धानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा लेटाङ नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावती, उपमेयर कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत शशि राईले मोरङ प्रहरी प्रमुख एसप्पी कवित कटवालसहित इन्स्पेक्टर सरोज खनाल, इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह र इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीलाई सम्मान गरेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले सत्य–तथ्य बाहिर ल्याएर अंशु गौतमको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले अपराधी पक्राउ नपरे पीडित परिवारले न्याय नपाउने र समाजमा अपराधीको मनोबल बढ्ने खतरा रहेका बेला अत्यन्त कठिन परिस्थितिमा पनि सफल अनुसन्धान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरीलाई धन्यवाद दिए ।
दोषी जो कोही भए पनि कानुनको दायरामा ल्याइ पीडितलाई न्याय दिलाउन नेपाल प्रहरी प्रतिबद्ध र सक्षम छ भन्ने सन्देश यो घटनाले दिएको उनको भनाइ थियो । नगरपालिकाले सुरुदेखि नै प्रहरी र पीडित परिवारसँग निरन्तर समन्वय गर्दै न्याय दिलाउन पहल गरिरहेको जानकारी पनि उनले दिए ।
उपप्रमुख कृष्णकुमारी निरौलाले अंशु गौतमको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर मोरङ प्रहरीले कठिन अवस्थामा पनि न्यायको बाटो खोलेको भन्दै आभार प्रकट गरिन् । प्रमुख प्रशासकीय अधिकृत शशि राईले अन्य धेरै यस्तै प्रकृतिका घटनामा दोषी पहिचान हुन नसकिरहेको सन्दर्भमा अंशु गौतमको घटनामा संलग्न पक्राउ हुनु सकारात्मक र उदाहरणीय काम भएको बताए ।
अंशुका बुवा राजन गौतमले पनि घटनामा संलग्न अभियुक्त पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिंदै अनुसन्धानका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । सम्मानपछि आफ्ना धारणा राख्दै एसपी कटुवालले प्रहरी प्रधान कार्यालयको समेत गम्भीर चासो रहेको यस घटनामा सीआईबीसमेतको प्रहरी टोली अत्यन्त मिहिन ढंगले अनुसन्धान गरेर हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए ।
घटना भएको लामो समयपछि शव फेला परेको र कुनै स्पष्ट सुराक नदेखिएको जटिल अवस्थामा पनि अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकेको उनको भनाइ छ । नागरिकको सुरक्षा प्रहरीको दायित्व भएको र अपराध नियन्त्रणमा नागरिकको सहयोग अपरिहार्य रहने भन्दै एसपी कटवालले अनुसन्धानमा सहयोग गरेकोमा स्थानीयलाई धन्यवादसमेत दिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष खड्गबहादुर श्रेष्ठ, वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमनाथ सुवेदी, नेकपाकी प्रतिनिधि शान्ता राई तथा लेटाङ क्याम्पसका पूर्वक्याम्पस प्रमुख खेमराज दुलालले पनि हत्यामा संलग्न पक्राउ गर्न सफल भएकोमा मोरङ प्रहरीलाई धन्यवाद दिए । कार्यक्रमका सहभागीहरूले मृतक अंशु गौतमको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
गत असोज २१ गते लेटाङ–२ फडानीस्थित घरबाट हराएकी अंशुको शव कार्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा फेला परेको थियो। शरीर र टाउको अलग गरिएको, कुहिएको र दुर्गन्धित अवस्थामा भेटिएको शव चप्पल र कपडाको आधारमा अभिभावकले सनाखत गरेका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले करिब ३ सय स्थानीयसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गरेको थियो । अन्ततः हत्यामा संलग्न भएको आरोपमा अंशुकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई मंसिर १८ गते पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
कञ्चनपुरकी निर्मला पन्त प्रकरणझैँ यो घटना पनि निष्कर्षमा नपुग्ने हो कि भन्ने चिन्ताबीच २ महिनाभित्रै हत्यामा संलग्न पक्राउ पर्नुलाई महत्वपूर्ण सफलता ठान्दै लेटाङ नगरपालिकाले सार्वजनिक रूपमा प्रहरीलाई सम्मान गरेको हो । अंशुको हत्यामा संलग्न पक्राउ गर्न सफल भएकोमा मोरङ प्रहरीको चौतर्फी प्रशंसा भइरहेको छ ।



















