उम्मेदवार छनोटमा नेकपाको मापदण्ड: पदमा बहाल रहेका र विवादित व्यक्तिलाई रोक

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार ११:१९

काठमाडौँ । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोटमा नयाँ र कडा मापदण्ड लागू गरेको छ। पार्टीले हालै जारी गरेको आन्तरिक परिपत्रअनुसार अब उम्मेदवार बन्ने व्यक्ति कानुनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्नेछ। यसपटक पार्टीले बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई पुनः उम्मेदवार बन्नबाट वञ्चित गर्दै नयाँ अनुहारलाई प्राथमिकता दिने नीति लिएको छ।

उम्मेदवार हुनका लागि प्रतिनिधि सभाको हकमा २५ वर्ष र राष्ट्रिय सभाको हकमा ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्थालाई कडाइका साथ पालना गरिनेछ। आर्थिक पारदर्शितालाई विशेष जोड दिँदै नेकपाले भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका, कर वा राजस्व नतिरेका र बैंकको कालो सूचीमा रहेका व्यक्तिलाई टिकट नदिने स्पष्ट पारेको छ। उम्मेदवार बन्न चाहनेले आफ्नो सम्पत्ति र आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य सर्त समेत राखिएको छ।

सामाजिक आचरण र नैतिकताको सवालमा पनि पार्टीले शून्य सहनशीलताको नीति अपनाएको छ। जातीय वा लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन र मानव बेचबिखन जस्ता गम्भीर मुद्दामा संलग्न व्यक्तिहरू उम्मेदवार बन्न पाउने छैनन्। राजनीतिक रूपमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, आन्दोलनमा निरन्तर योगदान दिएका र जनतामाझ लोकप्रिय रहेका व्यक्तिलाई मात्र मैदानमा उतारिने परिपत्रमा उल्लेख छ।

समावेशिता र न्यायका लागि नेकपाले महिला, दलित, जनजाति र मधेसीलगायतका क्लस्टरलाई अनिवार्य समेट्दै शहीद र बेपत्ता परिवारका सदस्य एवं विपन्न वर्गलाई विशेष प्राथमिकता दिने जनाएको छ। एकै परिवारबाट एकभन्दा बढी व्यक्तिलाई सिफारिस गर्न पूर्ण प्रतिबन्ध लगाउँदै पार्टीले परिवारवादलाई निरुत्साहित गरेको छ। प्रत्यक्षतर्फको सिफारिसमा कम्तीमा एक युवा र एक महिला अनिवार्य हुनुपर्ने र विषयगत विज्ञता भएका व्यक्तिलाई प्राथमिकता दिइने नेकपाले जनाएको छ। यो नयाँ मापदण्डले निर्वाचनमा पार्टीको छवि थप बलियो र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.