सरकार चुनावलाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुनुपर्छ : शेखर कोइराला

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार १२:३८

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण बनाउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिका–६ सरौचियामा शनिबार बिहान आयोजित पार्टी कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष निर्वाचन गराउन सरकारले कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । हामी त निर्वाचनमा जान्छौं । तर, सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्यो । अझैपनि जेलबाट सार्पसुटरसहित ५ हजार बडी कैदी फरार छन् । प्रहरीको हातहतियार लुटिएको छ । फरार कैदीलाई पक्राउ गर्नु पर्यो, हतियार बरामद गर्नुपर्यो । सरकारले त्यतातिर ध्यान दिइरहेको छैन ।’

‘सरकारले राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्रीलाई काठमाडौं बाहिर जान नपाइने भन्दैछ । अनि अर्कोतर्फ सरकार म निर्वाचन गराउँछु भन्दै छ । यो कस्तो निर्वाचन गराउन खोजेको ?,’ नेता कोइरालाले भने, ‘हामी विगतमा जस्तै सबै राजनीतिक दलहरुको सहभागितामा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा छौं । कांग्रेस निर्वाचनप्रति सकारात्मक छ ।’

उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई फरक–फरक रुपमा लिनुपर्ने बताए । नेता कोइरालाले भने, ‘२३ गतेको घटना घृणित थियो । सो घटनालाई जति निन्दनीय भने पनि माफी पाउने अवस्था छैन । तर, सरकार र जेनजीले दुवै घटनालाई बेग्लै हेरौं भनिरहनु भएको छ । दुवै घटनामा दोषीलाई कानुनी रुपमा लिनुपर्छ । मुलुकका लागि २४ गतेको घटना अत्यन्त दुर्भाग्यपूर्ण हो ।’

नेता कोइरालाले अहिलेको अवस्थामा पार्टीको महाधिवेशन केहीदिन तलमाथि हुनसक्ने आशंका व्यक्त गरेका छन् । १५ औं महाधिवेशनमा सभापतिको दाबी गर्दै आएका नेता कोइरालाले भने, ‘पार्टीको नियमित महाधिवेशन हुनुपर्छ । त्यसका लागि सबै साथीहरु एकताबद्ध भएर अघि बढौं । क्रियाशिल सदस्यताको विषयमा ध्यान दिउँ।’

वडाको अधिवेशनलाई सहमतितर्फ केन्द्रीत गर्न नेता कार्यकर्तालाई सुझाव दिँदै उनले आकांक्षीबीच सहमति नभए प्रतिस्पर्धाबाट अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सो अधिवेशनमा सहमतिको अधिकतम प्रयास खोज्नुस् । सो प्रयास सफल नभए प्रतिस्पर्धा गराउनुस् । तर, प्रतिस्पर्धामा हार भएमा एकअर्कालाई धोका दिएको भन्दै अन्य गतिविधी गरेमा त्यो स्वीकार्य हुने छैन । स्वस्थ्य प्रतिस्पर्धा गराउनुहोस् ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रुक्मिणी कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेपाल ट्रेड युनियन कांग्रेस मोरङका सभापति सुशील कोइराला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा (एमाले)का युवा नेता नवीनविक्रम शाह, तत्कालीन नेकपा (माओवादी केन्द्र)का राजकुमार कामत लगायत करिब १ सय जना कांग्रेसमा प्रवेश गरेको वडा नम्बर ६ का बुथ सभापति रामनाथ ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.