एमालेमा पोखरेल पक्षको भेला: ‘गुटबन्दी र काखापाखा गरिए कडा प्रतिवाद’

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार १६:२९

काठमाडौँ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेल पक्षका नेताहरूको शनिबार काठमाडौँमा सम्पन्न भेलाले महाधिवेशनमा उठाएका वैचारिक मुद्दाहरूलाई नछोड्ने निर्णय गरेको छ । पार्टीको आन्तरिक लोकतान्त्रीकरण र विधिमा जोड दिँदै यो पक्षले आफ्ना एजेन्डाहरूलाई विधानभित्रै रहेर निरन्तर उठाउने निष्कर्ष निकालेको हो ।

नेतृत्व हस्तान्तरण र लोकतान्त्रीकरण एमाले उपमहासचिव योगेश भट्टराईका अनुसार भेलाले मुख्य गरी चारवटा मुद्दालाई प्राथमिकतामा राखेको छ । पार्टीको पुनर्गठन र सुदृढीकरण, नेतृत्व हस्तान्तरणको प्रक्रिया, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतन्त्रको सुदृढीकरणको विषयलाई पार्टीका विभिन्न तहमा छलफलका लागि लैजाने तयारी यस पक्षले गरेको छ ।

भेलाले महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका गतिविधिले एमालेको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको छ । पार्टी संरचनाको दुरुपयोग भएको र लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएको भन्दै यो पक्षले आपत्ति जनाएको छ । भट्टराईका अनुसार आगामी दिनमा यस्ता प्रवृत्ति विरुद्ध सचेत र सक्रिय रहने निर्णय भएको छ ।

महाधिवेशनको मत परिणामबाट विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भेलाले पार्टी एकताका लागि रचनात्मक भूमिका खेल्ने अठोट गरेको छ । तर, पार्टीभित्र गुटबन्दी हुने र नेता–कार्यकर्तालाई ‘काखापाखा’ गर्ने कुनै पनि प्रयास वा प्रस्ताव आएमा त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ ।

महाधिवेशनपछिको यो भेलालाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र वैचारिक बहसको निरन्तरताका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.