
काठमाडौँ । ‘जेनजी’ आन्दोलनको नेतृत्व गरेका मिराज ढुंगानाको समूहले वर्तमान सरकारले आन्दोलनको मर्ममाथि धोका दिएको भन्दै सोमबारदेखि पुनः आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यो समूहले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठनको माग गरेको हो ।
सरकारको १०० दिन असफल भएको दाबी पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले वर्तमान सरकारको कार्यसम्पादन हेर्दा पूर्ण रूपमा असफल भइसकेको दाबी गरे। ‘सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बोक्दैन र हाम्रो नेतृत्व पनि गर्दैन,’ उनले भने, ‘त्यसैले अब सबै पक्षलाई विश्वासमा लिन सक्ने सर्वपक्षीय सरकार गठन हुनुपर्छ।’
आन्दोलन नेताको सिँढी होइन ढुंगानाले भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड बनाउन वा कसैलाई नेता बनाउने सिँढीका रूपमा प्रयोग हुन नदिने चेतावनी दिए । उनले सरकारले निकास दिनुको साटो चुनावको मात्र रट लगाएको आरोप समेत लगाए । आन्दोलनको स्वरूप ढुंगाना समूहले सोमबारदेखि नै काठमाडौँ केन्द्रित विरोधका कार्यक्रमहरू सुरु गर्ने जनाएको छ। उनीहरूले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सर्वपक्षीय सरकार नै एकमात्र विकल्प रहेको अडान राखेका छन् ।

























