कारागारबाट छुटेलगत्तै सभापतिको हैसियतमा रवि लामिछाने

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १७:३४

काठमाडौं । सहकारी ठगी प्रकरणमा कारागार पुगेपछि केही समय पार्टी नेतृत्वबाट अलग भएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने औपचारिक रूपमा पुनः सक्रिय राजनीतिमा फर्किएका छन् ।

शुक्रबार रिहा भएका लामिछाने आइतबार पार्टी केन्द्रीय समिति बैठकमा सभापतिकै हैसियतमा सहभागी भए । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक उनकै अध्यक्षतामा बस्यो ।

कारागार चलान भएपछि लामिछानेले उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । आइतबार भने अर्यालले नै आफ्नै कार्यकक्षमा लामिछानेलाई सभापतिको भूमिकामा पुनः स्वागत गरे ।

यसअघि पार्टी कार्यालय परिसरमा लामिछानेको स्वागत बाजागाजासहित गरिएको थियो । कारागारबाट बाहिरिएपछि लामिछाने पहिलोपटक केन्द्रीय कार्यालय पुग्दा समर्थक तथा नेता–कार्यकर्ताको भिडले घेरिएका थिए ।

पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूविरुद्ध मात्र नभई समग्र परिवर्तनको एजेन्डामाथि नै प्रहार भइरहेको संकेत गरे । उनले पछिल्लो समय संसद् पुनर्स्थापनाको नाममा विभिन्न गतिविधि भइरहेको भन्ने सूचना आफूले पाएको बताउँदै त्यसप्रति कडा आपत्ति जनाए ।

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको छ रे,’ उनले भने, ‘कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको हो ? जनताका मुद्दा राख्न खोज्दा माइक काटिने, आवाज दबाइने संसद् ब्युँझाउन खोज्नुभएको हो भने त्यसको कुनै अर्थ छैन ।’ लामिछानेले संसद् पुनर्स्थापनाको बहानामा राजनीतिक षड्यन्त्र चलिरहेको आरोप लगाउँदै त्यसमा संलग्न हुन नखोज्न चेतावनीसमेत दिए ।

‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला, धेरै आँखा नचम्काउनुहोला,’ उनले भने । उनले राजनीतिक परिवर्तन संरचना बनाउने मात्र नभएर सोच र अभ्यास नै बदल्नुपर्ने चरणमा मुलुक आइपुगेको धारणा राखे ।

सिंहदरबारको सन्दर्भ उल्लेख गर्दै लामिछानेले भने, ‘सिंहदरबार बनाएर मात्रै हुँदैन । सिंहदरबार बदल्नु छ । भत्किएका संरचना बनाउँदै परिवर्तन गर्ने जिम्मेवारी हाम्रो हो ।’ युवापुस्ताको भूमिकालाई विशेष रूपमा स्मरण गर्दै लामिछानेले जेनजीले राजनीतिमा ल्याएको ऊर्जा र अपेक्षालाई अधुरो छोड्न नहुने बताए । ‘जेनजीले सुरु गरेको योगदानलाई पूर्णतामा पुर्‍याउन हामी सबै इमानदार भएर लाग्नुपर्छ,’ उनले भने

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.