बाक्लो हुस्सु : चन्द्रगढी विमानस्थल प्रभावित

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ७, सोमबार १३:३७

झापा । बिहानैदेखिको बाक्लो हुस्सुका कारण चन्द्रगढी विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। आवश्यक भिजिबिलिटी नपुग्दा सोमबार दिउँसो १२ बजेसम्म विमानस्थलबाट कुनै पनि नियमित उडान हुन सकेनन् । पछिल्लो समय जाडो बढ्दै जाँदा तराईका विमानस्थलहरूमा हुस्सुका कारण उडान तालिकाहरू प्रभावित हुने क्रम बढेको छ।

विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार विमान अवतरणका लागि न्यूनतम २ हजार २०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । निश्चित मापदण्ड पूरा गरेर १ हजार मिटर भिजिबिलिटीमा उडान भर्न सकिने व्यवस्था छ ।

विमानस्थल प्रमुख खत्रीले भने, ‘निश्चित मापदण्ड पूरा गरेर बुद्ध एयरको एउटा जहाजले बिहान ११:४५ बजे उडान भरे पनि अवतरण भने हुन सकेन । १२ बजेपछि मौसममा सुधार आएपछि मात्र विमानस्थल सुचारु भएको छ ।’ पूर्वी तराई क्षेत्रमा बिहानैदेखि लागेको बाक्लो हुस्सु मध्याह्नपछि घाम लागेसँगै हटेको हो । मौसम सफा भएर भिजिबिलिटी पुगेपछि अहिले काठमाडौँबाट चन्द्रगढीका लागि जहाजहरू उड्ने तयारीमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.