
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन् । सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन् ।
यस पटक निर्वाचनमा सहभागी हुने राजनीतिक दलको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ । २०७९ को निर्वाचनमा ८७ दलले भाग लिएकोमा यस पटक ११४ दल दर्ता भएका छन् । दलको सङ्ख्या बढेकाले चुनावी प्रतिस्पर्धा थप रोचक र तीव्र हुने आयोगको अनुमान छ ।
३७ थरी निर्वाचन सामग्री जिल्लाबाटै खरिद गरिने निर्वाचनका लागि आवश्यक पर्ने कुल ५१ प्रकारका सामग्रीहरूमध्ये ३७ वटा जिल्लास्तरबाटै खरिद गर्ने तयारी आयोगले गरेको छ । बाँकी १४ वटा महत्त्वपूर्ण सामग्री मात्र केन्द्रबाट खरिद गरेर पठाइने प्रवक्ता भट्टराईले बताए । आयोगले स्वस्तिक चिन्ह, स्ट्याम्प प्याड, मसी, कागज, धागो, सियो, मैनबत्ती र कार्बन पेपर लगायतका सामग्रीमध्ये मौज्दात रहेकालाई प्रयोग गर्ने र नपुग सामग्री मात्रै खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

























