
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि हुनु नहुने बताएका छन् । यदि तलमाथि भए मुलुक अनिश्चयतिर धकेलिने उनको भनाइ छ ।
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको राष्ट्रपति पौडेलले स्पष्ट पारे । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग आज (सोमबार) राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा राष्ट्रपति पौडेलले मुलुकमा अब थप खेलवाड सह्य नहुने बताए ।
त्यस अवसरमा समाजका प्रतिनिधिले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मर्म र नागरिक सर्वोच्चताको विपरीत हुने भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने विश्वास व्यक्त गरेको थियो ।
समाजका प्रतिनिधिहरूले २०८२ भदौ २३ गते जेनजीद्वारा आह्वान गरिएको प्रदर्शनका क्रममा भएको दमन र हत्यापछि उत्पन्न राजनीतिक रिक्ततामा राष्ट्रपति पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।
प्रतिनिधिमण्डलले भदौ २३ को दमन र हत्याका जिम्मेवारमाथि अहिलेसम्म कारबाही नभएको तथा भदौ २४ गतेको ध्वंसका सूत्रधार पहिचान हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेको सभापति रेनुका पौडेलले जानकारी दिइन् ।

























