
राैतहट । शीतलहर र बढ्दो चिसोका कारण गौरका विद्यालय चार दिन बिदा दिइएको छ । गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको हाे ।
चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरु बन्द गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले बताए ।
अत्याधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको उनको भनाइ छ ।
























