यो अवस्थामा चुनाव असम्भव : शेरधन राई

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार १२:०५

विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारलाई ‘असंवैधानिक’ को संज्ञा दिँदै यसले घोषणा गरेको चुनाव सम्भव नरहेको दाबी गरेका छन् । एमाले कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता राईले वर्तमान सरकार चुनाव गराउनका लागि नभई लोकतन्त्र र संविधानमाथि प्रहार गर्न बनेको आरोप लगाए ।

देशको वर्तमान सुरक्षा अवस्था अत्यन्तै नाजुक रहेको उल्लेख गर्दै सचिव राईले भने, ‘अहिलेको अवस्थामा १ लाखभन्दा बढी गोलीगठ्ठा, १२०० भन्दा बढी हातहतियार र ५५०० भन्दा बढी कैदीहरू बाहिरै छन् । सुरक्षाकर्मीका पोशाकहरू बाहिर दुरुपयोग भइरहेका छन् । यस्तो असुरक्षित वातावरणमा निष्पक्ष चुनाव हुन सक्दैन ।’

प्रमुख राजनीतिक दलका नेताहरूमाथि शृंखलाबद्ध सांघातिक हमला भइरहेको, घर र पार्टी कार्यालयहरू जलाइएको भन्दै उनले सरकार प्रतिशोधपूर्ण राजनीतिमा उत्रिएको बताए । राईले थपे, ‘हाम्रो पार्टी अध्यक्षमाथि प्रतिशोध साँध्ने काम भइरहेको छ । नेताहरूलाई टर्चर गर्ने र भिसा रोक्ने जस्ता कार्यहरू भइरहेका छन् । यो सरकारले सामाजिक सद्भाव भड्काएर देशलाई प्रतिगमनतर्फ धकेल्न खोजिरहेको छ ।’

नेता राईले एमालेले देशव्यापी रूपमा जनतालाई परिचालन नगरेको भए देश निकै ठूलो दुर्घटनामा पर्ने समेत दाबी गरे । एमाले लोकतन्त्र र संविधानको रक्षाका निम्ति अन्तिमसम्म लड्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘एमाले खरानीबाट जुरुक्क उठेर देशव्यापी रूपमा संगठित भइसकेको छ । लाखौँ जनता प्रतिगमनको विरुद्ध सडकमा उत्रिएका छन् ।’

एमाले कोशी प्रदेश कमिटीले सिंगो पार्टी पंक्तिलाई संघर्ष र आन्दोलनमा उत्रन आह्वान गरिसकेको जानकारी दिँदै राईले वर्तमान सरकारको कदमलाई डटेर सामना गर्ने चेतावनी समेत दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.