विराटनगरमा बिचाैलियाले ‘कर्मचारी मिलाउनु पर्छ’ भन्दै पैसा मागेपछि…

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार १८:४८

विराटनगर । विराटनगरकाे मालपाेत कार्यालय र जिल्ला प्रशासन कार्यालय माेरङका सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र अवैध रूपमा रकम असुली गरेको आरोपमा प्रहरीले ३० जना बिचौलियालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट पक्राउ गरेकाे हाे ।

लामो समयदेखि सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङले सादा पोशाकमा टोली परिचालन गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये १० जना जिल्ला प्रशासन कार्यालय र २० जना मालपोत कार्यालय परिसरबाट समातिएका हुन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार कर्मचारीलाई मिलाउनु पर्छ भन्दै सेवाग्राहीसँग रकम मागेको सूचनाका आधारमा विचाैलिया पक्राउ परेका हुन् ।

“जिल्ला प्रशासनमा आउने सेवाग्राहीलाई कर्मचारीसँग काम मिलाइदिने बहानामा पैसा माग्ने गरेकाे गुनासाे थियाे,’ कोइरालाले भने,’ मालपोतमा अनधिकृत रूपमा कार्यालय भित्रै छिरेर ढड्डा हेर्ने तथा परिसरमा टेवल-कुर्सी राखेर सेवाग्राहीलाई सास्ती दिने गरेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।”

प्रहरीले लेखापढी व्यवसायीहरूलाई पक्राउ गरेको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन विराटनगर इकाईले विरोध जनाएको छ । आफ्ना व्यवसायीहरूलाई बिना सर्त रिहाई गर्न माग गर्दै एसोसिएसनले केही घण्टा मालपोत कार्यालयमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीका कारण दिउँसोको समयमा मालपोतका सेवाग्राही मर्कामा परेका थिए । यद्यपि, केही घण्टामा तालाबन्दी खोलिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिइन् । “अपराधिक र अवाञ्छित गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा हामीले उनीहरूलाई नियन्त्रणमा लिएका हौं,” डिएसपी चुँडालले भनिन्, “अहिले स्कृनिङ (छानबिन) को काम भइरहेको छ। कसुर हेरेर मुद्दा चलाउने वा नचलाउने निर्णय हुन्छ ।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.