
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचथरबाट हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
मंगलबार बसेको नेकपाकाे जिल्ला कमिटी बैठकले एउटा मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट नेम्वाङकाे नाम उम्मेदवारकाे रुपमा सिफारिस गरेकाे हाे ।
नेम्वाङ नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिको निवर्तमान अध्यक्ष हुन् । जिल्लाको भूगोलमा केन्द्रित राजनीति गरिरहेका उनले आफ्नो नाम एकल उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस भएको पुष्टि गरेका छन् ।
पार्टीभित्रको आन्तरिक समीकरणमा यसअघि जनार्दन शर्मा निकट मानिने नेम्वाङ पछिल्लो समय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा उभिएका छन् । वामपन्थी घटकहरूबीचको एकता र पार्टी पुनर्गठनको प्रक्रियामा शर्माले प्रचण्डको साथ छाडेर छुट्टै बाटो रोज्दा नेम्वाङले संस्थापन पक्षलाई साथ दिएका थिए ।
























