सुशासनका लागि नयाँ शक्तिहरू एकजुट हुनुपर्छ: मन्त्री घिसिङ

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार १४:२४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । सुशीला कार्कीको नेतृत्वमा गठित सरकारमा मन्त्री बनेका घिसिङले आफ्नो कार्यभारको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

सुशासनको मुद्दामा कुनै पनि तहमा सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै उनले प्रणालीमा देखिएका समस्यालाई जरैदेखि सम्बोधन गर्नुपर्नेमा जोड दिए । ‘हामीले अहिलेसम्म कुनै पनि ठाउँमा सुशासनको विषयमा सम्झौता गरेका छैनौँ,’ घिसिङले भने, ‘तलदेखि माथि सम्मका निकायमा देखिएका समस्यालाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ र गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र आफ्नो मन्त्रीको भूमिकाबारे चर्चा गर्दै उनले आगामी निर्वाचन मुलुकका लागि निर्णायक हुने उल्लेख गरे । निर्वाचनमा जाँदा सबै नयाँ र प्रगतिशील शक्तिहरू मिलेर जानुको विकल्प नभएको उनको भनाइ थियो । देशको परिवर्तनलाई संस्थागत गर्न र चुनावपछि सही नेतृत्व स्थापित गर्न नयाँ शक्तिहरूबीचको एकता आवश्यक रहेको उनले स्पष्ट पारे ।

उपयुक्त समयमा आवश्यक राजनीतिक निर्णय लिने संकेत गर्दै उनले अहिलेको मुख्य कार्यभार भनेको निर्वाचन सम्पन्न गर्नु र सुशासनमार्फत जनतालाई राहत दिनु रहेको बताए । उनले देशका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि मुलुकको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । नयाँ शक्तिहरूबिचको एकताले मात्र मुलुकमा देखिएका विद्यमान चुनौतीहरूको सामना गर्न सकिने उनको दाबी थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.