
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारसँग असीमित म्याण्डेट नभएको स्पष्ट पार्दै अध्यादेशको भरमा शासन चलाउने प्रवृत्तिले लोकतन्त्रलाई हित नगर्ने बताएका छन् । विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०२५’ को उद्घाटन गर्दै उनले संसद्को अनुपस्थितिमा कानुन निर्माण गर्ने अभ्यासले लोकतन्त्रलाई बलियो नबनाउने धारणा राखे ।
उनले भने, ‘यो सरकारलाई असीमित म्याण्डेट छैन। कानुन संसद्को अनुपस्थितिमा बन्न सक्दैन र बनाउनु पनि हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो ।’ उनले अध्यादेशको आधारमा शासन चलाउनु असल अभ्यास नभएको समेत उल्लेख गरे ।
सीमित म्याण्डेट र संस्थागत अभावका बाबजुद निजी क्षेत्रको आशालाई सम्बोधन गर्न सरकारले प्रयास गर्नुपर्नेमा उनले जोड दिए । आर्थिक संकटका बेला निजी क्षेत्रले देखाएको धैर्यताको प्रशंसा गर्दै उनले व्यवसायीहरू आफैँ जुर्मुराएर अघि बढ्न खोज्नु अर्थतन्त्रका लागि सुखद पक्ष भएको बताए ।
अर्थमन्त्री खनालले पूर्वी नेपालको पर्यटकीय सम्भावनाबारे आफ्नो व्यक्तिगत अनुभव समेत साटेका छन् । आफूले यस क्षेत्रका १६ वटै जिल्ला पैदल घुमेको स्मरण गर्दै उनले यहाँको भूगोल र पर्यटन विकासको प्रवल सम्भावना रहेको औँल्याए। निजी क्षेत्रका लागि यो क्षेत्र लगानीको उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको भनाइ थियो ।
उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच नीतिगत तादाम्यता हुनुपर्नेमा जोड दिँदै त्यस्तो समन्वयले मात्र निजी क्षेत्रले वास्तविक राहत र उच्च मनोबल प्राप्त गर्न सक्ने बताए ।

























