
विराटनगर । चुनाव हारिरहने नेकपा एमाले पूर्वउपाध्यक्ष गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ । नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालकाे नाम सिफारिस गरेकाे हाे । उनीसँगै १६ जनाको नाम सिफारिस गरेको जिल्ला सचिव सोमराज थापाले जानकारी दिए ।
उनका अनुसार जिल्ला कमिटीबाट बरालसँगै नरेश पोखरेल, भुराज राई, शान्ति लिम्बू, धना तामाङ, रामलाल साह, सत्यनारायण चौधरी, खेम नेपालीलगायतको नाम सिफारिस भएको छ । प्रदेशले आकांक्षी सूची आज केन्द्रमा पठाउनेछ ।
समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका बराल पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका नेता हुन् । केपी ओलीको समूहबाट उम्मेदवार बनेका उनी सो समूहबाट पराजित हुने सिनियर नेता हुन् । उनीसँगै उपमहासचिव उम्मेदवार विष्णु रिमाल पनि पराजित भएका थिए । पराजित हुनुअघि बराल एमालेको उपाध्यक्ष नै थिए । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि अध्यक्ष केपी शर्मा ओलीले रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गरेका थिए ।
२०५१ सालमा भएको मध्यावधि निर्वाचन जितेका बराल त्यसयता जनप्रतिनिधि चुनिएका छैनन । जनअनुमोदित नभएपनि उनी पार्टी राजनीतिमा प्रभावशाली हुन् ।
























