खरेल-ओली भेट: निर्वाचनको वातावरण र सुरक्षामा छलफल

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १३:२६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारीबारे छलफल गर्न मन्त्री खरेल आज ओली निवास पुगेका हुन् ।

ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेको र सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको जानकारी गराएको बताए । ‘सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ, सरकार चुनावका लागि पूर्ण रूपमा तयार छ,’ खरेलले भने । उनले एमालेलाई निर्वाचनको तयारीमा जुट्न समेत आग्रह गरेको जानकारी दिए ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले निर्वाचनको सुरक्षा र वातावरणका विषयमा केही संशय व्यक्त गरेको मन्त्री खरेलले बताए । ओलीले सुरक्षा प्रबन्धलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । यसलाई सकारात्मक रूपमा लिँदै मन्त्री खरेलले भने, ‘सुरक्षाका कुरा राम्रो बनाउनुपर्‍यो भन्ने दलको भनाइ त राम्रो हो नि, यसले निर्वाचनलाई अझ विश्वसनीय बनाउँछ।’

प्रमुख दलहरूले निर्वाचन बहिष्कार गर्ने कुनै संकेत नदिएको र दल दर्ता समेत भइसकेकाले अबको बाटो निर्वाचन नै भएको मन्त्री खरेलको दाबी छ। ‘चुनाव बहिष्कार गर्ने कुरा छैन, सबै दल दर्ता भइसकेका छन्। अब समन्वय र छलफल गर्दै अगाडि बढ्ने कुरामा सहमति छ,’ उनले थपे । प्रधानमन्त्री सुशीला कार्कीले शनिबारका लागि बोलाएको शीर्ष बैठकको पूर्वसन्ध्यामा मन्त्री खरेलको यो दौडधुपलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.