
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद चर्किएका बेला विशेष महाधिवेशन पक्षधर समूहले पार्टी नेतृत्वलाई पुनः दबाब दिएको छ । पूर्वनिर्धारित नियमित महाधिवेशनको सुनिश्चितता नदेखेपछि उक्त समूहले शुक्रबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर स्मरण पत्र बुझाएको हो ।
नेता देवराज चालिसेका अनुसार नियमित १५औँ महाधिवेशन तोकिएको समयमा हुने लक्षण नदेखिएकाले पार्टीलाई वैधानिक संकटबाट जोगाउन विशेष महाधिवेशन नै एकमात्र विकल्प छ । सोही कुरालाई ध्यानाकर्षण गराउन कार्यवाहक सभापति खड्कालाई स्मरण पत्र बुझाइएको उनले बताए । यसअघि यो समूहले गत असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको औपचारिक माग गरिसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरे पनि क्रियाशील सदस्यता वितरण र तल्लो तहका अधिवेशनहरूमा देखिएको ढिलाइले महाधिवेशन सर्ने सम्भावना बढेको छ । यही अलमलका बीच गगन थापा र शेखर कोइराला निकट मानिने यो समूहले यदि नियमित प्रक्रिया अवरुद्ध भएमा असोजमा बुझाइएको हस्ताक्षरको आधारमा विशेष महाधिवेशनको प्रक्रिया स्वतः अघि बढ्नुपर्ने जिकिर गरेको छ ।
देशव्यापी हस्ताक्षर अभियान चलाएको यो पक्षले कूल महाधिवेशन प्रतिनिधिको ५० प्रतिशतभन्दा बढीको समर्थन जुटाएको दाबी गरेको छ। पार्टीमा नयाँ नीति र नेतृत्वको आवश्यकता रहेको भन्दै युवा नेताहरूले फागुन २१ को निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राख्दै आएका छन् । कार्यवाहक सभापति खड्काले स्मरण पत्र बुझ्दै यसबारे पार्टीभित्र छलफल भइरहेको र सहमतिको प्रयास जारी रहेको बताएका छन् ।
























