
इलाम । नेपाली कम्युनिस्ट पार्टी इलामले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । इलामको फिक्कलमा शुक्रबार विजय खम्बुको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फका आकांक्षीहरूको नामावली टुङ्गो लगाएको हो ।
प्रत्यक्षतर्फको सिफारिस पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित खिनु लङवा, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोख्रेलको नाम सिफारिस गरेको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ का लागि ओम गुरुङ, शान्ता बस्नेत, प्रवास शर्मा आचार्य, सुरेन राई (मिसन) र नयन राईको नाम सिफारिस गर्ने निर्णय बैठकले गर्यो ।
समानुपातिक र राष्ट्रिय सभातर्फ समानुपातिकतर्फ झलनाथ खनाल (खस आर्य), हर्क लावती (कान्छा) (आदिवासी जनजाति), भक्त लुङेली, टेकबहादुर राई र लालबहादुर सुब्बा (खुल्ला), लक्ष्मण घतानी (दलित) तथा सावित्रीदेवी राई (महिला) को नाम सिफारिसमा परेको छ ।
राष्ट्रिय सभातर्फ भने भक्त केसी र सावित्रा गड्तौला (खस आर्य), चित्रकला बराइली र दीपक सिन्चिउरी (दलित) तथा सावित्रा पोख्रेल (खुल्ला महिला) को नाम अघि सारिएको छ । इलाम नेकपाका नेता प्रवास शर्मा आचार्यका अनुसार पार्टीको आन्तरिक छलफल र स्थानीय तहको सुझावका आधारमा यी नामहरू केन्द्रमा पठाइएको हो । निर्वाचन नजिकिँदै गर्दा इलाममा नेकपाले आफ्नो चुनावी सक्रियतालाई तीव्रता दिएको छ ।
























