निर्वाचनको अन्योल चिर्न प्रधानमन्त्रीले ३ दलका शीर्ष नेतासँग छलफल गर्दै

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १२, शनिबार ०८:५२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ दलका शीर्ष नेताबीच निर्वाचनलाई केन्द्रमा राखेर शनिबार महत्वपूर्ण छलफल हुने भएको छ ।

फागुन २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचनप्रति प्रमुख दलहरूले सुरक्षा एवं समग्र चुनावी वातावरणबारे आशंका जनाइरहेका बेला सरकार र दलहरूबीचको दूरी घटाउने प्रयासस्वरूप संवाद हुन लागेको हो । यसअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्की, पूर्वप्रधानमन्त्रीहरु कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रारम्भिक छलफल भएको थियो ।

त्यही संवादको निरन्तरताका रूपमा हुन लागेको शनिबारको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । सुरुमा ‘ठूला दलका शीर्ष नेताको मुख पनि हेर्दिनँ’ भन्ने अडानमा रहेकी प्रधानमन्त्री कार्की पछिल्लो समय दलहरूसँग सक्रिय संवादमा जुटेकी छन् ।

सरकारले निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री जगदीश खरेललाई दूतका रूपमा अघि सारेको छ । खरेलले ठूला दलका शीर्ष नेताको निवासमै पुगेर निष्पक्ष, धाँधलीरहित र सुरक्षित निर्वाचन गराउने प्रतिबद्धता सरकारको तर्फबाट जनाइरहेका छन् ।

देउवाले कांग्रेसको प्राथमिकता निर्वाचन नै भएको स्पष्ट पारेका छन् भने ओलीले सुरक्षाको विश्वसनीय व्यवस्था आवश्यक रहेको बताएका छन् । प्रचण्डले पनि निर्वाचनको विकल्प नभएको भन्दै तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीसँगको शीर्ष नेताको छलफलले निर्वाचनबारेका सवालमा देखिएका अनेक अन्योल घटाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.