केपी शर्मा ओली वैकल्पिक बाटोबाट आयोगमा ‘जवाफ’ दिन सहमत

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १५:१४

काठमाडौं । लामो समयदेखि टकरावको स्थितिमा देखिएको जाँचबुझ आयोग र पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अन्ततः संवादको ढोका खुलेको छ ।

ओली जाँचबुझ आयोगमा आफ्नो भनाइ राख्न अन्ततः तयार भएका छन् । लामो समयदेखि आयोगमा कुनै पनि प्रकारको बयान नदिने अडान लिँदै आएका ओली अहिले भने सिंहदरबारस्थित आयोग सचिवालयमा उपस्थित नभई वैकल्पिक माध्यमबाट आफ्नो जवाफ दिने सहमतिमा पुगेका हुन् ।

एमाले तथा आयोगसम्बद्ध उच्च स्रोतका अनुसार ओलीको जवाफ लिने विषयमा शीर्ष राजनीतिक तहमा अनौपचारिक सहमति बनिसकेको छ । आयोगका प्रतिनिधिले ओली निवास गुन्डु वा अन्य कुनै तेस्रो स्थानमा पुगेर कुरा लिन सक्ने, अथवा लिखित प्रश्न पठाएर लिखित जवाफ लिने विकल्पमा छलफल भइरहेको छ ।

ओली स्वयंले यसअघि ‘गुन्डुमा आयोगका मान्छे आए चिया खुवाएर पठाइन्छ’ भन्ने अभिव्यक्ति दिँदै आफू सचिवालयमा नजाने संकेत गरिसकेका थिए । आयोगका पदाधिकारीहरू पनि यस विषयमा केही लचिलो देखिएका छन् ।

आयोग अध्यक्ष गौरीबहादुर कार्की र अन्य २ सदस्यबीच ओलीको भनाइ समेट्ने विषयमा गोप्य छलफल भइसकेको आयोगसम्बद्ध स्रोतको दाबी छ । ओली निकट व्यक्तिहरूसँग निरन्तर सम्पर्क भइरहेको र कुनै न कुनै मोडेलमार्फत उनको जवाफ आयोगको अभिलेखमा ल्याउने तयारी भइरहेको बताइन्छ ।

यसअघि कार्कीले आयोग गठनको सुरुमै सार्वजनिक रूपमा दृष्टिकोण व्यक्त गरेको भन्दै ओलीले आयोगमा कुनै बयान नदिने अडान लिएका थिए । तर, कार्कीलाई पदमुक्त गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि आयोगले वैधता पाएको छ । अदालतको निर्णयपछि ओलीको अडान पनि क्रमशः नरम बन्दै गएको स्रोतको भनाइ छ ।

आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित सरकारी अधिकारी, सुरक्षाकर्मी, घाइते, मृतकका आफन्त र अन्य सरोकारवालाको बयान संकलन गरिसकेको छ । ती बयानका आधारमा तत्कालीन प्रधानमन्त्री ओलीलाई सोधिने गरी ६० भन्दा बढी प्रश्नको सूची तयार भएको छ । सोमबार पूर्वगृहमन्त्री रमेश लेखकको बयानपछि आवश्यक परे थप प्रश्न थप्ने आयोगको तयारी छ ।

ओलीले प्रतिनिधिमार्फत लिखित जवाफ पठाउने प्रस्ताव गरे पनि आयोग त्यसमा पूर्ण रूपमा सकारात्मक छैन । सबैलाई सचिवालयमै बोलाएर बयान लिइएकाले ओलीका हकमा मात्र फरक प्रक्रिया अपनाउँदा प्रश्न उठ्ने आयोगको बुझाइ छ । त्यसैले लिखित प्रश्न लिखित जवाफको मोडेल वा आयोगका पदाधिकारी स्वयं उपस्थित भएर जवाफ लिने विकल्पलाई अघि बढाइएको छ ।

केही दिनअघि मात्रै ‘बयान नदिने, बरु पक्राउ परे गिरफ्तारी दिन तयार’ भन्ने ओली अहिले आयोगसँग संवादको मध्यमार्गमा पुगेका छन् । आयोग पनि टकरावभन्दा समाधानमुखी बाटो रोज्ने निष्कर्षमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.