नेकपा मोरङद्वारा प्रत्यक्ष र समानुपातिकका उम्मेदवार सिफारिस

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १६:४०

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मोरङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले पठाएको केही नामलाई परिमार्जन गर्दै केन्द्रमा पठाइएको हो ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ र ५ बाट एकल नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ६ बाट सिफारिसमा परेका प्रदेश सांसद तथा नेकपा संयोजक पुष्पकल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले आफ्नो नाम फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री अमनलाल मोदी र ५ बाट पूर्वमन्त्री शिवकुमार मण्डलको नाम एकल सिफारिसमा परेको छ । मोदी २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । क्षेत्र नम्बर ५ मा शिवकुमार स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा लिम्बू (कुशल), विपेन्द्र चेम्जोङ र उपेन्द्र घिमिरे, कल्पना राई र जेनजीबाट कोसिस सुवेदीको नाम पठाइएको छ । क्षेत्र नम्बर २ मा प्रकाश पौडेल, चन्द्रवीर राई, जुब्बा सोरेन, प्रेमनारायण थापा र जेनजीबाट निर्मल भण्डारीको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, डा. देवमान साम्बाहाम्फे, लालबहादुर सुस्लिङ मगर, चन्द्रकला सुब्बा र योगेन्द्र लिम्बू र चन्द्रबहादुर गुरुङको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ६ बाट उपेन्द्र राय, दीपककुमार ढकाल, सोनेलाल राजवंशी, ओसिम आलम, सञ्जुकुमारी साह, मो. परवेज आलम र विनोद घिमिरेको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ को क्षेत्रीय समितिबाट सिफारिसमा परेका प्रदेश सांसद जीवन आचार्यको नाम फिर्ता भएको छ । क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएको पूर्वमन्त्री अमनलाल मोदीको नाम फिर्ता भएको छ ।

जिल्लाले समानुपातिकतर्फ ३२ जना आकांक्षीको नाम केन्द्रमा पठाएको छ । समानुपातिकतर्फ मेदनी सेढाईं, शुशीला घिमिरे, प्रेम मिभक, भोगेन्द्र यादव तथा युवातर्फ अभिमन्यु यादव, ऋषि राई, दिपेश परियारलगायतको नाम सिफारिस भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.