‘विधि मिचिएको’ भन्दै ओसिम आलमले फिर्ता लिए उम्मेदवार सिफारिस सूचीबाट नाम

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १८:३९

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) नेता ओसिम आलमले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ सिफारिस भएका आलमले पार्टीको केन्द्रीय सर्कुलर  विपरित सिफारिस भएको भन्दै नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

जिल्ला कमिटीले क्षेत्र नम्बर ६ मा उम्मेदवार छनोटका लागि आलमसहित उपेन्द्र राय, दीपककुमार ढकाल, सोनेलाल राजवंशी, विनोद घिमिरे, सञ्जुकुमारी साह र मो. परवेज आलमको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

केन्द्रले खुलातर्फ बढीमा ३ जना, महिला १ र जनजाति १ गरी कुल ५ जनाको मात्र नाम पठाउन निर्देशन दिएको थियो ।

जिल्लाले केन्द्रको सोही निर्देशन विपरित संख्या बढाएर नाम पठाएपछि आलमले असन्तुष्टि व्यक्त गरेका हुन् । आलमले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति सार्वजनिक गरेका हुन् ।

‘केन्द्रको सर्कुलर भन्दा बाहिर गएर गरिएको सिफारिस मा मेरो पनि नाम देखेँ, विधि, पद्धति र पार्टीको निर्णय भन्दा बाहिर गएर गरिएको सिफारिसको म घोर भत्सना गर्दै सिफारिसबाट मेरो नाम हटाईदिन आग्रह गर्दछु,’ पारिवारिक कामले भारतमा रहेका आलमले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रचारबाजीको लागी गरिने सिफारिसमा म नरहेको जानकारी गराउन चाहन्छु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.