‘जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर राष्ट्र र लोकतन्त्रमाथि सुनियोजित आक्रमण भयो’ (पूर्णपाठसहित)

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १४, सोमबार १५:४३

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन युवाको स्वस्फूर्त असन्तोष मात्रै नभएको उल्लेख गरेका छन् ।

आन्दोलनलाई घुसपैठमार्फत नियोजित ढंगले हिंसात्मक बनाइएको दाबी उनको छ । उले उक्त घटनालाई राष्ट्र र लोकतन्त्रमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएका छन् । ‘जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर राष्ट्र र लोकतन्त्रमाथि सुनियोजित आक्रमण भयो,’ उनले उल्लेख गरेका छन् ।

जाँचबुझ आयोगमा सोमबार लिखित बयान दिएर फर्किएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा लेखकले सार्वजनिक पदमा बसेका व्यक्तिमाथि प्रश्न उठेपछि जवाफ दिनु लोकतान्त्रिक दायित्व भएको बताए । भदौ २३ गते जेनजी पुस्ताले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने जानकारी पाएपछि आफूले २२ गते साँझै सुरक्षा समितिको बैठक बोलाएको र उक्त बैठकमा बल प्रयोग गर्ने कुनै योजना नबनेको उनको भनाइ छ ।

लेखकका अनुसार जेनजी युवाले उठाएका माग जायज थिए र सरकारले ती माग सम्बोधन गर्ने प्रक्रिया अघि बढाइरहेकै बेला आन्दोलन हिंसात्मक मोडमा पुगेको थियो । ‘प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्ने विश्वासकै आधारमा अनुमति दिइएको थियो,’ उनले भने, ‘तर, अप्रत्याशित अशान्ति, जनधनको क्षति र हताहती भएपछि नैतिक जिम्मेवारी लिँदै मैले राजीनामा दिएँ ।’

उनले प्रधानमन्त्री वा गृहमन्त्रीसँग गोली चलाउने आदेश दिने संवैधानिक अधिकार नभएको स्पष्ट पार्दै आफूले कहिल्यै त्यस्तो आदेश नदिएको पनि जिकिर गरे । आयोगमा दिएको लिखित बयानमा लेखकले भदौ २४ गतेको घटनालाई युवाको मागसँग जोडेर हेर्न नहुने उल्लेख गरेका छन् ।

सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनजस्ता राज्यका प्रमुख निकायमाथि भएको आगजनी र तोडफोड कुनै पनि देशभक्त नागरिकको कल्पनाभन्दा बाहिरको विषय भएको उनको ठम्याइ छ । राज्यका तीनै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका संरचनामाथि एकैसाथ आक्रमण हुनु आकस्मिक आवेगको परिणाम हुन नसक्ने लेखकको निष्कर्ष छ ।

उनले देशभर सरकारी कार्यालय, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा छानीछानी निजी सम्पत्तिमा आगजनी गरिएको स्मरण गराउँदै नेपालको इतिहासमै एकैदिन यति ठूलो मानवीय र भौतिक क्षति कहिल्यै नभएको बताएका छन् । यस्तो विनाश क्षणिक रिस र आक्रोशबाट नभई पूर्वतयारीसहित सुनियोजित रूपमा गरिएको देखिने उनको भनाइ छ ।

लेखकले जेनजी पुस्ताको असल मनोभावनामा घुसपैठ गरेर आन्दोलनलाई हिंसात्मक दिशामा धकेलिएको दाबी गर्दै त्यसलाई युवामाथिको अन्याय हुने गरी ‘आवेगको उपज’ भनेर व्याख्या गर्न नमिल्ने बताएका छन् । भदौ २४ गतेको घटनालाई युवाको जायज मागभन्दा अलग्गै हेर्नु पर्ने र आपराधिक गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनी कारबाही गर्नुपर्ने उनको धारणा छ ।

यस्तो छ लेखकले दिएको बयानको पूर्णपाठ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.