
काठमाडौं । निर्वाचन आयोग परिसरमा सोमबार साँझ युवाहरूको समूहले निर्वाचन प्रक्रिया रोक्नुपर्ने माग गर्दै नाराबाजी गरेको छ । ‘जेनजी समूह’ का नाममा परिचित केही युवाहरूले सुरक्षा घेरा तोड्दै आयोगभित्र प्रवेश गरी विरोध प्रदर्शन गरेका हुन् ।
राजनीतिक दलहरू समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन आयोग पुगेका बेला युवाहरूले ‘चुनाव धोका हो’, ‘निर्वाचन प्रक्रिया बन्द गर’ र ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लगाएका थिए । उनीहरूले ‘जेनजीका माग पूरा गर’, ‘नालायक सरकार मुर्दावाद’ तथा ‘सुशीला कार्की राजीनामा दे’ भन्दै अन्तरिम सरकारविरुद्ध आक्रोश व्यक्त गरे ।
प्रदर्शनकारीहरूले रवि–बालेनबीच भएको सहमतिप्रति पनि असन्तुष्टि जनाउँदै बन्द कोठाभित्र सहमति गरेर चुनावमा जानु आन्दोलनमाथिको धोका भएको आरोप लगाए । सञ्चारकर्मीसँग कुरा गर्दै एक प्रदर्शनकारीले युवाहरूको नाममा समर्थन जनाएर अन्ततः चुनावी सहमतिमा जानु स्वीकार्य नहुने बताए ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र हत्या घटनामा संलग्नलाई कारबाही नगरी निर्वाचनमा जान लागिएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए ।
आयोगजस्तो संवेदनशील क्षेत्रभित्रै नाराबाजी भएपछि सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरेका थिए । नाराबाजीमा संलग्न युवाहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएर आयोग परिसरबाट बाहिर निकालेको छ ।
निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम समय सीमा सोमबारसम्म तोकेको थियो । सोही क्रममा विभिन्न दलका शीर्ष नेताहरू आयोग पुगेका बेला विरोध प्रदर्शन भएको हो ।
























