
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको छ ।
भौगोलिक अवस्था, पहुँच र सुगमताका आधारमा निर्वाचन क्षेत्रलाई वर्गीकरण गर्दै आयोगले खर्चको फरक–फरक सीमा तोकेको हो । आयोगका अनुसार काठमाडौं जिल्लाका ५ निर्वाचन क्षेत्रका उम्मेदवारले सबैभन्दा कम, अधिकतम २५ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउनेछन् ।
यसमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ पर्दछन् । यी क्षेत्रलाई ‘सुगम’ क्षेत्र मान्दै खर्च सीमा कम तोकिएको आयोगको भनाइ छ ।
यसैगरी, देशका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । जुन हाल तोकिएकोमध्ये सबैभन्दा बढी हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारका लागि खर्च सीमा २९ लाख रुपैयाँ तोकिएको छ भने १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । दुर्गमता, भौगोलिक अवस्था र सेवा सुविधाको पहुँचलाई ध्यानमा राखेर खर्चको सीमा निर्धारण गरिएको उनले स्पष्ट पारेका छन् ।
आयोगले खर्च व्यवस्थापनमा कडाइ गर्ने नीति पनि लिएको छ । उम्मेदवारले निर्वाचनमा खर्च गर्न अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ । सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, उम्मेदवारले आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार व्यक्ति तोकी खर्चको विस्तृत विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । निर्वाचन आयोगले तोकेको सीमा ननाघ्ने गरी मात्र खर्च गर्न पाइने र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्पूर्ण निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । आयोगले खर्च विवरणको निगरानी कडाइका साथ गर्ने भएको छ ।
























