
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउन मंगलबार बिहानसम्म पनि सकेको छैन । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नामावली बुझाउन नसकिएको स्वीकार गरे ।
निर्वाचन आयोगले पुस १३ र १४ गते उम्मेदवारहरुको बन्दसूची बुझाउन समय दिएको थियो । सोहीअनुसार रातभरसम्म नामावली बुझाउने काम जारी रह्यो । सुरुमा नेता मीन विश्वकर्मा र मुख्य सचिव पौडेल निर्वाचन आयोग पुगेका थिए ।
मंगलबार बिहान करिब चार बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोगमा पुगेका थिए । तर, पौडेल र परियारले लिएर गएको नामावलीको फाइलमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएको थियो ।
यसकारण आयोगले नामावली स्वीकारेन । त्यसपछि महामन्त्री शर्माले हस्ताक्षर गराउन पौडेल र विश्वकर्मालाई देउवा निवास महाराजगञ्ज पठाए । महाराजगञ्ज पुगेका उनीहरु आयोगमा फर्किएका छैनन् ।
मुख्य सचिव पौडेलले भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र काम टुंग्याउँदैछौं ।’ आयोगका कर्मचारीले भने पार्टीले पहिल्यै निवेदन र सनाखत गराइसकेको भएकाले मंगलबार पनि नामावली बुझाउन सकिने बताए ।
























