
विराटनगर । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका केन्द्रीय नेतालगायत अन्य दल छाडेकाहरु मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
नयाँ शक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सचिव भरत दाहालसहित केन्द्रीय सदस्य तथा मजदुर इन्चार्ज तेजलाल कर्ण (मोरङ), कैलाश बानिया (ताप्लेजुङ), तत्कालीन प्रदेश १ का पार्टी सहसचिव अमरेशकुमार मेहता (सुनसरी), तत्कालीन झापा जिल्ला अध्यक्ष कृष्ण कट्टेललगायत रास्वपा प्रवेश गरेका हुन् । साथै, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)को समानुपातिक सांसद पदको उम्मेदवार निशा श्रेष्ठ (मोरङ) र प्रलोपाको कोशी प्रदेश सदस्य ललितादेवी शर्मा एवं नेपाली कांग्रेस मोरङका क्रियाशील सदस्य मुरारीप्रसाद दाहालसमेत रास्वपा प्रवेश गरेका छन् ।
विभिन्न दल त्याग गरेका २ जना ५० जना पार्टी प्रवेश गरेको दाबी रास्वपाको छ । उनीहरुलाई केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा रास्वपा उपसभापति डीपी (डोलप्रसाद) अर्यालले पार्टीमा प्रवेश गराएका हुन् ।
विभिन्न कालखण्डका राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका नेताहरूले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै अब राष्ट्र र राष्ट्रियताप्रतिको आफ्नो भूमिका के हुने भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा रास्वपा रोजेको बताए । रास्वपामा प्रवेश गरेर आगामी राजनीतिक यात्रालाई नयाँ ढंगले अगाडि बढाउने निर्णयमा पुगिएको मेहताको भनाइ छ ।
























