
काठमाडौँ । निर्वाचन आयोगले यसअघिको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने उम्मेदवारहरूको विषयमा हालसम्म कुनै पनि नयाँ निर्णय नभएको स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै जरिवाना वा अयोग्यता सम्बन्धी विषयमा अहिले कुनै निर्णय नभएको जानकारी दिनुभएको हो ।
विभिन्न सञ्चारमाध्यमहरूमा उम्मेदवारहरूको नाम नै किटान गरी खर्च विवरण नबुझाएको र उनीहरू उम्मेदवार हुन नसक्ने दाबीसहितका समाचारहरू सार्वजनिक भएपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगले हाल जरिवाना सम्बन्धमा कुनै कारबाही प्रक्रिया अघि नबढेको स्पष्ट पारेको छ ।
निर्वाचन सकिएलगत्तै खर्च विवरण पेस गरिसकेका उम्मेदवारहरूले समेत आफूमाथि भ्रम फैलाइएको भन्दै सम्बन्धित प्रमाण र पत्रहरू सार्वजनिक गरिरहेका छन् । आयोगले भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गर्दै कानुनी व्यवस्था अनुसार हुने प्रक्रियाबारे समयमै आधिकारिक जानकारी गराउने बताएको छ ।

























