
काठमाडौं । सरकारले पुस महिनाको तेस्रो वा चौथो साताभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी गरेको छ ।
यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् । पुस १४ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँगको भेटपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पनि राष्ट्रियसभाका अध्यक्ष दाहालसँग अधिवेशनको तयारीबारे छलफल गरेका छन् । मन्त्री खरेलका अनुसार सरकार अधिवेशन आह्वान गर्ने प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउने तयारीमा छ । उनका अनुसार पुसको तेस्रो वा चौथो सातामा बैठक बस्ने गरी आवश्यक प्रक्रिया अघि बढ्नेछ ।
संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने व्यवस्था छ । यसैबीच बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा यस विषयमा छलफल हुने सम्भावना छ ।
गत भदौ ३१ गते राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको थियो । भदौको जेनजी आन्दोलनपछि तत्कालीन सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।
आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि राष्ट्रियसभाको बैठक सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने व्यवस्था मिलाइँदैछ । संघीय संसद् सचिवालयका अनुसार हलको भौतिक काम सकिएको छ भने अडियो तथा भिडियो प्रणाली जडानको काम अन्तिम चरणमा छ ।
























