
काठमाडौं । निवर्तमान मन्त्री कुलमान घिसिङले औपचारिक रूपमा आफ्नो राजनीतिक यात्राको सुरुआत भएको घोषणा गरेका छन् ।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले अब आफू कुनै प्रशासनिक जिम्मेवारीमा सीमित नरही खुला राजनीतिमा सक्रिय हुने स्पष्ट पारे । पत्रकारहरूसँग कुरा गर्दै उनले कहिले राजनीतिमा लाग्नुहुन्छ ? भनेर लामो समयदेखि सोधिने प्रश्नको अब उत्तर पाएको बताए ।
‘तपाईंहरूले बारम्बार सोध्नुहुन्थ्यो, कहिले राजनीतिमा लाग्नुहुन्छ ? भनेर,’ घिसिङले भने, ‘अब त्यो समय आएको छ । मैले मन्त्री पदबाट राजीनामा दिएको छु र म राजनीतिमा लाग्छु ।’ उनका अनुसार देशको समग्र अवस्था र जनताका अपेक्षाले आफूलाई खुला राजनीतिमा आउन बाध्य बनाएको हो ।
‘देशलाई अहिले गम्भीर परिवर्तनको आवश्यकता छ,’ उनले भने, ‘त्यो परिवर्तन प्रशासनिक सीमाभित्र बसेर मात्र सम्भव छैन । त्यसका लागि राजनीतिक जिम्मेवारी लिनैपर्छ भन्ने निष्कर्षमा पुगेँ ।’ मन्त्रीका रूपमा रहँदा आफूले व्यक्तिगत महत्वाकांक्षा भन्दा पनि जिम्मेवारीलाई प्राथमिकतामा राखेको उनको दाबी छ ।
कार्यकालभर मन्त्रालयकै काममा पूर्ण रूपमा केन्द्रित भएको उल्लेख गर्दै उनले ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि कुनै सम्झौता नगरेर काम गरेको बताए । ‘मन्त्री पदमा रहँदासम्म मेरो सम्पूर्ण ध्यान मन्त्रालयमै थियो,’ उनले भने, ‘त्यस अवधिमा मैले जिम्मेवारीबाट भाग्ने होइन । अझ बढी बोझ उठाउने प्रयास गरेँ ।’
राजीनामापछि अब कुन राजनीतिक धार वा एजेन्डासहित अघि बढ्ने भन्ने विषयमा भने उनले विस्तृत कुरा खुलाएनन् । तर, देशको सुशासन, सार्वजनिक सेवाको सुधार र राज्य संयन्त्रमा जवाफदेहिताको स्थापनालाई आफ्नो प्राथमिक राजनीतिक मुद्दा बनाउने संकेत घिसिङले दिए ।
उनले अबको यात्रामा प्रशासनिक अनुभवलाई राजनीतिक प्रतिबद्धतासँग जोडेर अघि बढ्ने योजना बनाएका छन् । घिसिङको यो घोषणालाई नेपाली राजनीतिमा नयाँ बहसको सुरुआतका रूपमा हेरिएको छ ।
प्रशासनिक पृष्ठभूमिबाट आएका व्यक्तिहरू प्रत्यक्ष राजनीतिमा आउँदा त्यसले ल्याउने प्रभाव र चुनौतीबारे पनि चासो बढेको छ । अब मन्त्रीबाट राजनीतिज्ञ बनेका कुलमान घिसिङले कस्तो बाटो रोज्छन् र जनतासँग कसरी जोडिन्छन् भन्ने प्रश्नको उत्तर आगामी दिनले दिनेछ ।
























