
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने आशंकालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। यही पुस २७ र २८ गते काठमाडौँमा तय गरिएको विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजाने अवस्था आएमा सबैभन्दा पहिला आफू अधिवेशन हलबाट बाहिरिने उनले स्पष्ट पारेका छन्।
पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद र आशंका बढिरहेका बेला महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन। यदि त्यस्तो संकेत देखिए हलबाट पहिलो बहिर्गमन मेरै हुनेछ।’
सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनको विपक्षमा उभिए पनि महामन्त्रीद्वय शर्मा र गगन थापा पक्ष भने यसको पक्षमा दृढ देखिएका छन्। ‘जेनजी’ आन्दोलनपछि बदलिएको राष्ट्रिय परिस्थिति र नयाँ चुनौतीको सामना गर्न पुरानो ढर्राले नपुग्ने शर्माको तर्क छ। ‘आजको नेपाल भदौ २३ अघिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरे।
























