
विराटनगर । मोरङ र उदयपुरमा प्रहरीले अवैध लागू औषधविरुद्ध गरेको कारबाहीमा १ जना पक्राउ परेका छन् ।मोरङको सुनवर्षी नगरपालिका-१ बाट प्रहरीले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ का विवेक तिमल्सिनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।
मोरङको प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पुस २३ गते तिमल्सिनाको साथबाट ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, उदयपुरमा प्रहरीले बेवारिसे अवस्थामा रहेको ठूलो परिमाणको गाँजा फेला पारेको छ। उदयपुरको अस्थायी प्रहरी पोस्ट बगाहाबाट खटिएको टोलीले त्रियुगा नगरपालिका वडा नम्बर ४ स्थित बगाहा खोलाको काँस घारीमा लुकाइराखेको अवस्थामा ३० किलोग्राम गाँजा बरामद गरेको हो। झोलामा राखेर बेवारिसे अवस्थामा छाडिएको उक्त गाँजा कसले र कहाँ लैजान लागेको भन्नेबारे प्रहरीले खोजी कार्य अघि बढाएको छ।























